काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आफ्नो दललाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ ।
ओली पक्षले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दल नेताका रुपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ ।
‘आईतबारदेखि सदन चल्दैछ । नेकपा औपचारिक रुपमा विभाजन भएको छैन । सभामुखले दलको नेताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्न खोजे त्यसको प्रतिवाद गरिने छ,’ ओली पक्षका एक सांसदले भने ।
उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिई कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली पक्षले तयारी थालेको छ ।
‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली पक्षका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरुलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन ।’
ओली पक्षले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै प्रचण्ड–नेपाल पक्षले भने अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ । ‘हेरौं न अविश्वासको प्रस्ताव कसले पेश गर्दो रहेछ, कुन आधारमा अविश्वासको प्रस्ताव आउँछ । हामी त्यसैअनुसार धारणा बनाउनेछौं,’ ती सांसदले भने ।
बालुवाटारनिकट स्रोतका अनुसार कांग्रेससँग पनि छलफल भइरहेको छ । कांग्रेस तत्कालै अविश्वासको प्रस्ताव लिएर आउने/नआउने भन्ने निर्क्योलमा पुगिनसकेकाले अहिलेलाई सभामुखको व्यवहारलाई हेरेर मात्रै सदनमा ओली पक्षको उपस्थिति रहने बताइएको छ ।
‘प्रधानमन्त्री ओली यतिबेला विश्वासको मत माग्ने अवस्थामा हुनुहुन्न । उहाँले संसदमा आउने अविश्वासको परिणाम नै स्वीकार गर्ने हो तर त्यो अविश्वासको प्रस्ताव वैधानिक बाटोबाट आउनुपर्यो नि !’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘निर्वाचन आयोगले नेकपासम्बन्धी विवाद टुंग्याएको छैन । कानूनी रुपमा दल विभाजन भएको छैन । त्यसैले प्रचण्डलाई संसदीय दलको नेता मान्ने आधार छैन ।’
संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपर्न सांसदहरुलाई निर्देशन थिए । शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले आफूहरु बहुमतमा रहेको तथा बहुमत जुटाउने जिम्मा आफ्नो भएको उल्लेख गर्दै अन्य समूहतिरको प्रलोभनमा नपर्न र परिस्थितिको डटेर सामना गर्न निर्देशन दिएका थिए । ओलीले प्रचण्ड–नेपाल पक्षको घेराबन्दीमा परियो भन्ने नठानी घेरा तोड्न आग्रह गरेका छन् ।
‘अर्कातिरबाट माननीयहरुलाई भ्रममा पार्ने, दबाब दिने गर्छन्, घेराबन्दीमा पार्छन्, ती सबै तोडेर आउनुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत् गर्दै एक सांसदले भने । ती सांसदका अनुसार प्रधानमन्त्री ओली आफ्नो पक्षमा बहुमत पुग्नेमा ढुक्कजस्तै देखिएका थिए ।
‘हामी ढुक्क छौं, तपाईंहरुले आफ्नो प्रस्तुती राम्रोसँग राख्नुहोला, संसदमा डटेर सामना गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने । सांसद पदम गिरीका अनुसार प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत रहेको बताएका थिए ।
‘संसदीय दलमा बहुमत छ, अहिले हामीसँग ११५ छन् । तपाईंहरु ढुक्क हुनुहोस्, निर्भीक भएर प्रतिवाद गर्नुहोस्,’ ओलीको भनाइ उद्धृत गर्दै ती सांसदले भने ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्नु भनेको कम्युनिस्ट आन्दोलनविरुद्ध भएको बताएका थिए । ‘कम्युनिस्टहरुको बहुमतको सरकार ढालेर गैरकम्युनिस्टलाई सरकार गठन र प्रधानमन्त्री बनिदिनू भन्नु कम्युनिस्ट आन्दोलन विपरीत हो, यसलाई पराजित गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै सांसद गिरीले भने ।
गिरीका अनुसार बैठकमा प्रतिनिधि सभाबाट ९१ र राष्ट्रिय सभाबाट २४ गरी ११५ सांसदको उपस्थिति रहेको थियो ।
नेकपा एकीकरण जोगाइराख्न दोस्रो पुस्ताका नेताहरु केही दिन सक्रिय भए पनि कुनै प्रगति भएको छैन । प्रधानमन्त्री ओलीले राजीनामा दिने हो भने सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे केही दिन छलफल भएको थियो । प्रचण्ड–नेपाल पक्षका युवा नेताहरुले सो प्रस्ताव अस्वीकार गरेको जनाइएको छ ।
बरु उनीहरुले दोस्रो पुस्ताका नेताहरुको विषयमा छलफल गर्न सकिने बताएपछि ओली पक्षका नेताहरुले महासचिव विष्णु पौडेललाई अघि सार्ने गरी कुराकानी अघि बढाएका थिए । ओलीका विश्वास पात्र शंकर पोखरेल र घनश्याम भुसालबीच पटक–पटक कुराकानी भए पनि उनीहरुले खास सहमतिमा पुग्न सकेनन् ।
नेकपाका दर्जन सांसदले पार्टी भित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गरिरहेका बेला दोस्रो पुस्तामा नेतृत्व र प्रधानमन्त्रीको पद ल्याउनेबारे छलफल चलेको छ ।
सांसदहरु कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी, दीपक कार्की, पदम गिरी, ध्रुवबहादुर शाही, झपट रावल लगायतले घनश्याम भुसाल र शंकर पोखरेलसँग छलफल गरेका थिए ।
उनीहरुले उपनेता सुवास नेम्वाङलाई समेत भूमिका खेल्न आग्रह गरेका थिए । तर बालुवाटारका तर्फबाट नेम्वाङको प्रस्ताव आएको स्रोतले जानकारी दिएको छ । प्रचण्ड–नेपाल पक्षले नेम्वाङका नाममा सहमति नहुने बताएका थिए ।
उनीहरुले महासचिवका नाममा कार्यकारी दिएर अन्य सचिवालयको संयुक्त बडी बनाएर जाने विषयमा छलफल गर्न सकिने संकेत गरेको स्रोतको दाबी छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।