काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर संसदीय दलमा बहुमत पुर्याउने खेल चलिरहेका बेला ३ सांसदहरू निर्णायक हुने देखिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष बहुमत रहेको दाबी गर्दा ३ सांसद कुनै पनि पक्षको बैठकमा गएका छैनन् ।
नेकपा उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम, उनकी पत्नी तुलसा थापा र लालबाबु पण्डित कुनै पनि पक्षमा गएका छैनन् । यी तीनै सांसद जता गए, त्यता बहुमत पुग्ने चर्चा नेकपाभित्र छ ।
नेकपा संसदीय दलको नेता चयन गर्दा राष्ट्रियसभा सदस्यले समेत मतदान गर्ने भएकाले बामदेवको मत समेत महत्त्वपूर्ण छ । थापा र पण्डित भने प्रतिनिधिसभा सदस्य नै हुन् ।
उपाध्यक्ष गौतम र पत्नी थापा जता गए पनि सँगै जाने अवस्थामा छन् । गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् भने नेकपाकै अर्काे व्यक्ति प्रधानमन्त्री हुनुपर्ने माग राखेका छन् ।
पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले समेत संसदमा नेकपाको बहुमत भएको बेला अन्य पार्टीलाई सरकार बनाउन समर्थन गर्न नहुने विचार राखेका छन् । तसर्थ संसदमा नेकपा प्रचण्ड–नेपाल पक्ष कसरी प्रस्तुत हुन्छ, त्यस आधारमा यी तीनै सांसदको समर्थनको टुंगो लाग्ने स्रोतले जनाएको छ ।
राजनीतिमा चर्चा सुनिए जस्तो प्रचण्ड–नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अवस्था आएमा गौतम, थापा र पण्डितले प्रचण्ड–नेपाल पक्षलाई समर्थन नगरेर ओलीतिर लाग्न सक्ने स्रोतले अनुमान गरेको छ । तर ओलीलाई हटाएर नेकपाकै प्रधानमन्त्री हुने अवस्थामा यी तीनै जना प्रचण्ड–नेपालतिर लाग्न सक्ने स्रोतले बतायो ।
हिजो शुक्रबार प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक थियो भने आज शनिबार ओली पक्षले बैठक गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको बैठकमा प्रधानमन्त्री ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा २ पक्षमा विभाजित भएको छ ।
शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । भोलि आईतबार प्रतिनिधिसभा बैठक बस्दैछ ।
संसदीय दलको नेता चयन भएपछि प्रचण्डलाई ओलीले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए । ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी रहेको स्रोतले जनाएको छ । तर प्रस्तावित प्रधानमन्त्रीमा प्रचण्डले आफ्नै नाम राखेमा अविश्वासको प्रस्ताव ‘फेल’ हुने र देउवाको नाम राख्दा नेकपाभित्र अल्पमतमा परिने डर प्रचण्डमा रहेको स्रोतले जनाएको छ ।
भोलि धोका हुनसक्ने सम्भावना देखेर सभापति देउवाले समेत पार्टीमा यसबारे कुनै निर्णय गराएका छैनन् । नेकपा कानूनी रूपमा विभाजित नभएकाले जुनसुकै बेला पनि मिल्न सक्ने भएकाले पार्टीको झगडामा कांग्रेस पर्न नहुने देउवाको मत रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।