बेइजिङ - चीनले सिन्जियाङमा उइगरहरुमाथि चरम यातना दिनुका साथै सांस्कृतिक र धार्मिक सफायको अभियान चलाइरहेको छ । यस विषयमा विश्वभरका मानवअधिकारवादी संगठन र विभिन्न मुलुकहरुले चीनको आलोचना गरिरहेका छन् ।
यस मुद्दालाई उचालेको भन्दै चीनले यसअघि चीनमा बीबीसीमाथि प्रतिबन्ध लगाएको थियो । चीन सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको हो ।
कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्मा आपत्ति जनाउँदै आएको चीनले त्यसमाथि प्रतिबन्ध लगाएको हो ।
बीबीसीले चिनियाँ सरकारको निर्णयबाट "निराश" भएको प्रतिक्रिया दिएको थियो । सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो ।
सीजीटीएनको प्रसारण अनुमतिपत्र गलत रूपमा स्टार चाइना मिडिया लिमिटेडसँग रहेको पाइएपछि अफकमले त्यस्तो निर्णय लिएको थियो । गत वर्ष ब्रिटिश नागरिक पिटर हम्फ्रेलाई बलपूर्वक दिन लगाइएको भनिएको बयान प्रसारण गरेर प्रसारणसम्बन्धी ब्रिटेनका नियमहरू सीजीटीएनले उल्लङ्घन गरेको पाइएको थियो ।
आफ्नो निर्णयमा चिनियाँ नियामक निकायले बीबीसी वर्ल्ड न्यूजले "समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्याउन नहुने" सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको "गम्भीर रूपमा उल्लङ्घन" गरेको जनाएको छ ।
अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने उसले जनाएको छ। बीबीसीले आफ्नो विज्ञप्तिमा भनेको छ, "चिनियाँ अधिकारीहरूले यस्तो निर्णय लिएकोमा हामी निराश भएका छौँ।"
"बीबीसी विश्वको एउटा निकै विश्वासिलो अन्तर्राष्ट्रिय समाचार प्रसारक संस्था हो जसले विश्वभरिबाट निष्पक्ष रूपमा वा कसैको डरविना रिपोर्टहरू प्रसारण गर्छ ।"
बेलायतका विदेशमन्त्री डोमिनिक राबले बेइजिङ्गको कदमलाई 'सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अस्वीकार्य प्रतिबन्ध' भनेका छन् । चीनले विदेशमा गलत सूचनाको प्रवर्द्धन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले आरोप लगाएका छन् ।
बीबीसीमाथि प्रतिबन्ध लगाए पनि बीबीसीले भने उइगरहरुसम्बन्धी रिपोर्टिङ्लाई निरन्तरता दिएको छ । यस्तो अवस्थामा चीनले बीबीसीलाई चीनविरुद्ध आए चीनले आफ्नो कदम चाल्नसक्ने चेतावनी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।