काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वले चालू वर्षमा कोरोना महामारीबाट छुटकारा नपाउने जनाएको छ ।
डब्लूएचओका इमर्जेन्सी डाइरेक्टर माइकल रेयाले सोमवार चेतावनी दिँदै भनेका छन्, ‘यो वर्ष विश्वलाई कोरोना विरुद्धको लडाइँमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ । तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको संख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिने छ ।’
माइकलले पछिल्लो हप्ता विश्वभर कोरोना भाइरस संक्रमितको संख्या बढेको बताउँदै यसबाट सर्तक हुनुपर्ने शिक्षा लिनुपर्ने बताए ।
डब्लूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता युरोप, अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरूमा कोरोना भाइरस संक्रमणको मामिला बढेको बताएका छन् ।
पछिल्लो ७ हप्तामा पहिलो पटक कोरोना तीब्र भएको देखिएको उनले बताए । उनले यो निकै निराशाजनक भएको बताएका छन् ।
धेरै देशमा सामाजिक दूरीमाथिको कडाइ कम गर्दै लगिएको कारण महामारी तीब्र भएको हुनसक्ने उनको भनाइ छ । ‘मानिसहरू लापरवाह हुँदैछन्, जसले कोरोना भाइरसको भेरिएन्ट तीब्र गतिमा फैलिँदैछ,’ उनले भनेका छन् ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ११.४९ करोड बढी पुगिसकेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी व्यक्ति निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अफ्रिकी राष्ट्रहरूमा कोरोनाविरुद्ध खोप अभियान सुरू भएको छ । डब्लूएचओका अनुसार पश्चिमी अफ्रिकी देश घनालगायत देशमा खोप अभियान सुरू गरिएको छ । गत हप्ता ती देशमा सिरम इन्सिटिट्यूटको खोप पुगेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।