काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले प्रदेशसभामा दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल हुने दिन आईतबार मुख्यमन्त्री राईको खेल सफल भएको छ ।
ओली पक्षीय मुख्यमन्त्री राई निकट सांसदहरूले १ नम्बर प्रदेशसभा बैठक अवरुद्ध गरेपछि अविश्वास प्रस्ताव अगाडि बढ्न सकेन । आईतबार दिउँसो अबेर सुरू भएको बैठक नेकपा ओली समूहका सांसदहरूले अवरोधपछि स्थगित भएको छ ।
ओली पक्षका सांसदले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका हुन् ।
सत्तारुढ दलका सांसदहरूले संसदीय दलका नेता राईले निलम्बन गरेका १६ जना सांसदलाई बैठक प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव अगाडि बढ्न नसकेको हो ।
सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज आईतवार बोलाएका थिए । प्रदेश सभामा नेकपा प्रचण्ड–नेपाल पक्षले दर्ता गराएको मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव बाहेकको बिजनेश नभएकाले प्रस्ताव टेबल हुने कार्यसूची रहेको थियो ।
नेकपा विवाद चर्किएका बेला मुख्यमन्त्री राईले नेकपा संसदीय दलको नेताको हैसियतमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई ३ महिनासम्म कुनै किसिमका संसदीय गतिविधिमा संलग्न नहुने गरी निलम्बन गरेका थिए । राईले निलम्बन गरेका सांसदलाई बैठकमा सहभागी हुन नदिनुपर्ने माग ओली पक्षले राखेको छ ।
माघ ७ गते सुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनमा सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको पत्र पढेर अनिश्चितकालका लागि स्थगित गरेका थिए । प्रचण्ड–नेपाल पक्ष र प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलले सभामुख भण्डारीलाई दबाब दिएपछि आईतवार बैठक बोलाइएको छ ।
प्रदेश सभाका ९३ सदस्यमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना सदस्य छन् ।
नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईको पक्षमा २८, प्रचण्ड–नेपाल पक्षमा ३४, २ जना तटस्थ, १ जना फरार, सभामुख र उपसभामुख छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव सफल र असफल बनाउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।