काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरुको तुलना गरिए अन्याय हुने बताएका छन् ।
मिडिया एलाइन्सका प्रतिनिधिसँग शनिवार काठमाडौंमा भएको अन्तक्र्रियामा अध्यक्ष दाहालले अन्याय हुने बताएका हुन् ।
प्रचण्डले प्रधानमन्त्री ओली लोकतन्त्रलाई कुल्चेर प्रतिगमन र सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरु लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा लागेको बताएका छन् ।
प्रचण्डले भने, ‘त्यसैले ओलीसँग हामीहरूलाई तुलना गरिए अन्याय हुन्छ ।’ अध्यादेश जारी गर्नेदेखि संसद् विघटनसम्मका ओलीका कदमलाई ‘जंगली राज’को सुरुआतको संज्ञा दिँदै प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग प्रतिनिनिधसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ,
फागुन पहिलो हप्ताभित्र संयुक्त आन्दोलनमा जाने विषयमा टुंगो लाग्ने भन्दै उनले अहिलेको परिस्थिति आउनुमा ओली नै दोषी रहेको बताएका छन् ।
प्रचण्डले यस्तो अवस्था आउनुमा आफूहरुको पनि कमजोरी भए आत्मसमीक्षा गर्ने बताएका छन् । मुलुकमा उत्पन्न असहज राजनीतिक परिस्थितिबारे चाँडै नै श्वेतपत्र जारी गर्ने जानकारी पनि प्रचण्डले दिए ।
प्रचण्डले जनयुद्धदेखि गणतन्त्रसम्मको यात्रामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको औंल्याएका छन् । सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै प्रचण्डले भोलिका दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
अन्तक्र्रियामा अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै दुईतिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने बताएका छन् । ओलीको प्रशंसा मात्र सुन्ने बानी रहेको आरोप लगाउँदै नेपालले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकिर गरे। प्रजातन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिएको प्रष्ट पार्दै अध्यक्ष नेपालले संकटमा परेको मिडिया उद्योगलाई विकल्प दिन सक्नुपर्ने पनि बताएका छन् ।
अन्तक्र्रियामा मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णीकारले सञ्चार उद्योगको संरक्षणमा सरकारले काम गर्न नसकेको बताएका छन् । प्रजातन्त्र तथा लोकतन्त्रमा मात्र सञ्चारमाध्यम बाँच्न र फस्टाउन सक्ने भन्दै उनले संविधानको रक्षामा सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।