काठमाडौं – कम्युनिस्ट नेताहरू विभिन्न काण्डमा फसेर बदनाम भइरहेका बेला रुकुम पूर्वमा समेत तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि रङ्गेहात पक्राउ परेका छन् ।
जिल्ला समन्वय समिति रुकुम पूर्वको प्रमुख पदमा माओवादी केन्द्रबाट निर्वाचित गजेन्द्रबहादुर ओलीसहित ५ जनालाई प्रहरीले जुवाखालबाट रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रमुख ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५ का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरी रहेका छन् ।
रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ पातुखोलामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पातुखोलास्थित भरत घर्तीमगरको घरमा जुवातासको अखडा बनाएर खेल्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हान्दा रङ्गेहात पक्राउ गरिएको छ । जुवाखालबाट २५ हजार २०० रुपैयाँ र ३ गड्डी तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र कानूनबमोजिम कारबाही गरिने प्रहरी निरीक्षक शाहीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।