काठमाडौं – हिंसा भड्काएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चर्काे आवाज उठिरहेका बेला उनीविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेश गरिएको छ ।
ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले महाअभियोगको प्रस्ताव पेश गरेको छ ।
डेमोक्र्याटिक पार्टीका सांसदहरूले राष्ट्रपति ट्रम्पले गत हप्ता संसदमा भएको दंगामा आफ्ना समर्थकहरूलाई उक्साएको आरोप लगाएका छन् ।
डेमोक्र्याटिक पार्टीले राष्ट्रपति ट्रम्पलाई तुरुन्त हटाउन माग गरेको छ । ट्रम्पले लगातार दोस्रोपटक महाअभियोगको सामना गर्नुपरेको छ ।
प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीले आइतवार ट्रम्पलाई महाअभियोगको प्रस्ताव ल्याउन अनुमति दिएकी थिइन् । राष्ट्रपति ट्रम्पमाथि ७ जनवरीमा आफ्ना समर्थकहरूलाई भड्काउने काम गरेको आरोप लगाइएको छ ।
संसद भवनमा ट्रम्पका समर्थकहरूले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो । सभामुख पेलोसीले उपराष्ट्रपति माइक पेन्सले संविधानको २५ औं संशोधन अन्तर्गत ट्रम्पलाई हटाउन सक्ने बताउँदै आएकी छन् ।
डेमोक्र्याट्सलाई लेखिएको पत्रमा सभामुख पेलोसीले यदि उपराष्ट्रपति पेन्सले कुनै कारवाही नगरे महाअभियोगको पक्षविपक्षमा मतदान हुने बताएकी छन् । पत्रमा पेलोसीले लेखेकी छन्, ‘संविधान र प्रजातन्त्र बचाउनु हाम्रो दायित्व हो, त्यसैले हामीले तुरुन्त कदम चाल्नुपर्छ । राष्ट्रपतिले यी दुवै (संविधान र लोकतन्त्र) लाई धम्की दिएका छन् । दिनहरू बित्दै जाँदा राष्ट्रपतिले लोकतन्त्र बिगार्ने डर बढ्दै जाने देखिन्छ ।’
राष्ट्रपति ट्रम्पको समयअवधि यही हप्ताको अन्त्यमा सकिँदैछ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जनवरी २० तारिकमा राष्ट्रपति पदका लागि शपथ लिने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।