काठमाडौं - अमेरिकी इतिहासमा राष्ट्रपति हुँदै निर्वाचन हार्नेमा डोनाल्ड ट्रम्पको पनि नाम अंकित हुने भएको छ ।
हुन त अझै पनि पाँच राज्यमा मतगणना जारी छ । तर, ती राज्यमा मतान्तर निकै कम छ । ट्रम्पले अहिलेसम्म २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् । उनका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका जो बाइडेनले २६४ इलेक्टोरल मत ल्याएका छन् ।
अब उनलाई ६ मतको आवश्यकता छ । नोभादा राज्यमा ६ इलेक्टोरल मत छ । जहाँ बाइडेनले अग्रता हासिल गरेका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाएर मतगणना स्थगित गर्न माग गरेका ट्रम्पलाई अदालतले पनि धक्का दिएको छ ।
मतगणना तत्काल रोक्न माग गर्दै उनले अदालतमा दिएको उजुरी नै खारेज गरिदिएपछि अदालती बाटो पनि असफल भएको हो । जर्जियामा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो।
मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा प्रयोग भएको टेबुलेसन प्रक्रियामा पहुँचको माग गरिएको थियो। दुवै राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकामा अहिले पाँचवटा मुख्य राज्यहरूमा मत गणना भइरहेको छ । पेन्सलभेनिया, नेभाडा, एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन ।
पेन्सलभानियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुईवटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ट्रम्पले जित्नको लागि भने पेन्सलभानियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ।
यसअघि ट्रम्पको अग्रता पेन्सलभेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जियामा पनि उस्तै स्थिति देखा परिरहेको छ। त्यहाँ ट्रम्पको अग्रता ३५०० भन्दा कममा झरेको छ। केही घण्टा अगाडि उनको अग्रता १०,००० रहेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।