काठमाडौं – नेपाल एकीकरण गर्ने महाराजा पृथ्वीनारायण शाहलाई अधिकांश कम्युनिस्टहरूले खासै रुचाउँदैनन् । कम्युनिस्टले आफू हालिमुहाली हुँदा पृथ्वीनारायण शाहका शालिक भत्काएका थिए भने पृथ्वी जयन्तीलाई मनाउन समेत छाडेका छन् ।
तर केही कम्युनिस्टहरूको बुद्धि भने अहिले आएर फिर्दै गएको देखिँदैछ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आमनेपालीले गर्व गर्न लायक अभिभावक भएको जनाएका छन् ।
पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ का अवसरमा आईतबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने जनाएका छन् ।
मन्त्री ढकालले राष्ट्रलाई चीरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औंल्याएका छन् । उनले भने, ‘सच्चा नेपाली भएर सम्झने हो भने गर्व गर्न लायक अभिभावक भनेकै पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको योगदानलाई भुल्न हुँदैन । पृथ्वीनारायणले आधुनिक नेपाल निर्माणमा अभिभावकीय भूमिका निर्वाह गरेकैले आम नेपाली र राष्ट्रले सदासर्वदा सम्झिने छ र सम्झिरहेको छ ।’
‘सत्ता स्वार्थका लागि विखण्डन गर्नु हुँदैन, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अभिभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुनेछ,’ उनले भने ।
पर्यटन मन्त्री ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएका पुरातात्विक सम्पदा र स्थललाई जोडेर सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले एक विकास समिति गठन गरी प्रवद्र्धन गरिने समेत बताए ।
मन्त्री ढकालले केही दिनअघि पृथ्वीनारायण शाहसँग जोडिएका नुवाकोटको देवीघाट, पृथ्वीनारायणको समाधिस्थल, सालिक रहेको स्थल तथा नुवाकोट दरबार क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका थिए । उनले राष्ट्र निर्माण गर्ने अग्रज अभिभावकको योगदानलाई प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यस कार्यमा प्रष्ठिानलगायत संस्था र अभियन्ताको सहकार्य जरुरी रहेको बताएका छन् ।
मन्त्री ढकालले युगान्तकारी राजतन्त्रको सहमतिका साथ अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर नयाँ संविधान बनेको सन्दर्भमा संविधानमा हिन्दू धर्ममाथि चित्त दुखाइएपनि धर्मप्रति कुनै अन्योल र द्विविधा नरहेको दाबी गरे । उनले भने, ‘संविधानमा हिन्दू धर्ममाथि अतिक्रमण भयो भन्ने बुझाइ गलत हो । सार्वभौमसत्ता सम्पन्न संविधान सभाले निर्माण गरेको संविधानलाई एकपटक पढियो भने कुनै अन्योल रहने छैन । राज्य धर्मनिरपेक्ष हुन्छ, व्यक्तिको धार्मिक स्वतन्त्रताको राज्यले जिम्मा लिन्छ । संविधानमै प्राचीन परम्परागत ढंगले चलेका सनातन धर्मको राज्यले नै संरक्षण गर्छ भनेको छ । बलजफ्ती धर्म परिवर्तनलाई भने दण्डित गरेको छ । त्यसैले संविधान र कानूनले परम्परागत धर्म कर्मलाई बर्खिलाप गरेको छैन ।’
नेपाल–प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई बुझेर अघि बढ्न सके मात्रै शाहप्रति सच्चा सम्मान हुने बताए । जटिल भूराजनीतिक अवस्थामा रहेको नेपाल राष्ट्रलाई स्वाभिमान, स्वतन्त्रता र सार्वभौम बनाउन पृथ्वीनारायणले खेलेको भूमिका र शासन सञ्चालनका विधि र पद्धतिलाई अनुशरण गर्न सकेको खण्डमा नेपालको हितकारी हुने धारणा राखेका छन् ।
राज्य भागबण्डा गर्ने होइन, स्वार्थबाट अलग रहेर राष्ट्रको विकासमा दत्तचित्त भएर लाग्नुपर्ने पृथ्वीनारायणको प्रेरणालाई आजको सन्र्दभमा पनि उपयोग गर्न जरुरी रहेको उनले बताए ।
प्रतिष्ठानका उपकूलपति डा. जगमान गुरुङले पृथ्वीनारायणको चरित्रलाई विकास गर्न नसकेकै कारण मुलुकमा अस्थिरता उत्पन्न भएको दाबी गरे । गुरुङले पृथ्वीनारायणको विचार र चरित्रलाई आत्मसात् गरेको खण्डमा मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।
कार्यक्रममा मन्त्री ढकालसहित प्राज्ञ सदस्यलगायत विशिष्ट व्यक्तिले पृथ्वीनारायणको तस्वीरमा माल्यार्पण गरेका थिए । एकता दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी पुस्तक प्रदर्शनी आयोजना गरेको छ । कमलादीस्थित प्रज्ञाभवनको भानुभक्त कक्षमा आयोजित प्रदर्शनीको प्रतिष्ठानका कूलपति उप्रेतीले उद्घाटन गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।