काठमाडौं – भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा १ वर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए । हवाई टिकट लिइसकेका डा। रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए । तर बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध लगाइएपछि उनी बेलायतमै अलपत्र बनेका छन् ।
बेलायतको चेस्टर विश्वविद्यालयबाट मास्टर्स इन अर्थोपेडिक्सको कोर्स पूरा गरेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ रेग्मीले भने, ‘नेपाल जान त पाइनँ नै, पीसीआर परीक्षणमा बुझाएको सय पाउन्डसमेत व्यर्थ भयो । टिकट पनि स्थगन भएपछि अहिले ओपनमा राखेको छु ।’
बेलायतमा आफू बस्दै आएको घरको सम्झौता पनि यही डिसेम्बर अन्त्यमा सकिने उनले बताए । त्यसपछि कहाँ बस्ने भन्ने चिन्ताले उनलाई सताएको छ । ‘जनवरी १ पछि के गर्ने रु अझै अन्योलमा छु,’ उनले भने । आफूजस्तै अलपत्र परेका नेपालीका लागि नेपाल सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ ।
‘कोभिड—१९ परीक्षणको नतिजा नेगेटिभ देखाउन सक्ने र नेपाल पुगेर अनिवार्य क्वारेन्टीनमा बस्न तयार हुने नागरिकलाई देश प्रवेश गर्न सक्ने व्यवस्था गरियोस्,’ उनले भने, ‘आवश्यक सतर्कता र सुरक्षासहित प्रतिबन्ध फुकुवा गर्ने विकल्प खोजिनुपर्छ ।’
लामो समयदेखि बेलायत बस्दै आएका पूर्वगोर्खा हीराधन राई पनि यात्रा प्रतिबन्धको चेपुवामा परेका छन् । नेपालमा आइतवार बुवाको निधन भएपछि राई अहिले काजकिरीयाबाट वञ्चित बनेका छन् । ‘त्यसै त पिता गुमाउनुको पीडा छ, त्यसमाथि अन्तिम संस्कार र काजकिरीयामा समेत सहभागी बन्न नपाउँदा मानसिक रूपमा झन् ठूलो आघात पर्दो रहेछ,’ राईले भने । रेग्मी र राईजस्तै हाल जारी यात्रा प्रतिबन्धका कारण जरुरी अवस्थामा पनि नेपाल जान नपाउने थुप्रै नेपाली छन् ।
‘कतिपयले हामीलाई सम्पर्क गर्नुहुन्छ र समस्या पोख्नुहुन्छ । नेपाल जाने व्यवस्थाका लागि पहल गरिदिनुपर्यो भन्नुहुन्छ,’ एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले भनिन्, ‘नेपाल सरकारले सतर्कता र सावधानी अपनाउने कार्यको हामी पनि सम्मान गर्छौं । तर आफ्ना नागरिकले व्यहोरेको कष्ट पनि हेरिदिनुहुन हामी आग्रह गर्दछौं ।’ जरुरी हुनेहरूलाई पीसीआर रिपोर्ट र नेपालमा अनिवार्य क्वारेन्टाइन राखेर भए पनि फर्किन दिनुपर्ने उनको सुझाव छ ।
बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा प्राध्यापनरत जनस्वास्थ्य विज्ञ डा। पदम सिम्खडाले बेलायतबाहेक अन्य मुुलुकमा पनि नयाँ भाइरस भेटिँदै गएकाले यात्रा प्रतिबन्ध कायम राखिराख्न सम्भव नहुने बताए । ‘शुरूमा कोभिड देखिने देशहरूबाट अरू देशले पनि यात्रा प्रतिबन्ध लगाएकै हुन् । तर पछि सबैतिर फैलिएपछि ती प्रतिबन्धहरूको औचित्य रहेन,’ डा। सिम्खडाले भने, ‘यो नयाँ भाइरसको हकमा पनि अब त्यस्तै प्रवृत्ति दोहोरिने देखिन्छ ।’
मुलुकभित्र सतर्कता र सावधानीका लागि प्रभावकारी व्यवस्था नभएको खण्डमा भने यात्रा प्रतिबन्धकै सहारामा भए पनि संक्रमण रोक्ने प्रयास गर्नु आवश्यक रहने डा। सिम्खडाको राय छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।