काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमित पत्ता लगाउन पीसीआर परीक्षण गर्नुपर्ने विधि रहेको बेला अस्ट्रेलियाले भने विमानस्थलमा तालिम प्राप्त कुकुरको परिचालन गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय उडानलाई बिस्तारै शुरू गर्ने प्रक्रियामा रहेको अस्ट्रेलियाले कुकुरको सहयोगले विदेशबाट आउने संक्रमित पत्ता लगाउन सहज हुने जनाएको छ ।
अस्ट्रेलियाले कुकुरलाई पसिनाबाट आउने विशेष किसिमको गन्ध सुघ्न लगाएर त्यसको माध्यमबाट प्रारम्भिक चरणमा संक्रमितको पत्ता लगाउन तालिम दिइएको छ । यात्रु संक्रमित भए, नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुने जनाइएको छ ।
यस प्रक्रियाको अनुसन्धान गरिरहेकी एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा. सुसन हाजेलले आफूले आवश्यक तालिम गरिसकेको र अर्को चरणमा यस्ता तालिमप्राप्त कुकुरलाई अन्तर्राष्ट्रिय यात्रु आउने विमानस्थलमा तैनाथ गरिने रहेको जनाएकी छन् । उनले शुरूआती चरणको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिसमेत संक्रमित रहेको यस्ता तालिम प्राप्त कुकुरले पत्ता लगाएको बताएकी छन् ।
‘तालिम प्राप्त कुकुरले अन्य परीक्षणको नतिजाबाट पोजेटिभ आउनुअघि नै उक्त व्यक्ति पोजेटिभ रहेको देखाउन सक्ने क्षमता राख्छन्,’ उनले भनिन् ।
यस कार्यको थालनी अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपतकालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा शुरू गरिएको हो । अनुसन्धानकर्ता डा. हाजेलका अनुसार कुकुरले अन्य भाइरल संक्रमण पत्ता लगाउन खासै ध्यान नदिने भए पनि कोरोना संक्रमित पत्ता लगाउन प्रभावकारी हुने जनाएकी छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द गार्जियनमा प्रकाशित समाचार अनुसार फिनल्यान्डको हेलसिन्की विमानस्थलमा यस्तै तालिम प्राप्त ४ वटा कुकुरलाई नमूना कार्यक्रमका रूपमा संक्रमित पहिचानका लागि परिचालन गरिएको छ ।
अस्ट्रेलियाले आफ्ना नागरिकलाई मार्चदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले निर्माण भएको खोप मार्चसम्म अस्ट्रेलियालीलाई उपलब्ध गराउनका लागि सरकारले द्रूतगतिमा काम गरिरहेको जनाएका छन् ।
अस्ट्रेलियाले विश्वका विभिन्न ४ वटा खोप उत्पादक कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ । अस्ट्रेलियाले खोप लगाउन अनिवार्य नगरेको भए पनि सबै नागरिकलाई पर्याप्त हुने मात्रा आयात गरिने तथा केही देशभित्रै उत्पादन हुने जनाएको छ । हाल ९५ प्रतिशतसम्म सफल नतिजा दिएका फाइजर, अस्ट्राजेनेका लगायत कम्पनीसँग खोप खरिद गर्न अर्बौं डलरको सम्झौता भइसकेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।