काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि विभिन्न देशले मापदण्ड बनाएका छन् । सरकारी मापदण्ड नमान्नेलाई सामान्य जरिवाना गरेर सम्झाइबुझाई छाड्ने गरिन्छ ।
तर उत्तर कोरियामा भने सरकारले लागू गरेका नियम नमानेको भन्दै १ जनालाई गोली हानेर हत्या गरिएको छ । गत नोभेम्बर २८ तारिखमा उनलाई गोली हानेर मारेको रेडियो फ्री एसियाले जनाएको छ ।
उत्तर कोरियाका नागरिकले कोरोना भाइरसबाट जोगिन मान्नुपर्ने नियमको पालना गरून् भन्ने उद्देश्यले नागरिकलाई तर्साउनका लागि सार्वजनिक रुपमै उनको हत्या गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उत्तर कोरियाले हालसम्म कोरोना भाइरस संक्रमित नभेटिएको दाबी गर्दै आएको छ । उत्तर कोरियाका शासक किम जोङ उनले कोरोनाबाट जोगिन अल्ट्रा हाइ लेभन इमर्जेन्सी क्वारेन्टीनका उपाय अपनाएका छन् । चीनसँगको सीमामा आवातजावत गर्न खोज्नेलाई उनले गोली हान्न आदेश दिएका छन् ।
गोली हानेर मारिएका पुरूष अन्दाजी ५० वर्षका रहेका छन् । उनीमाथि सीमा पारीका चिनियाँसँग मिलेर तस्करी गरेको आरोप लगाइएको छ ।
उत्तर कोरियाले सबैभन्दा धेरै चीनसँग व्यापार गर्ने गरेको छ । तर महामारीका कारण चीनसँगको व्यापार ७५ प्रतिशतले खस्किएको जनाइएको छ । तस्करहरूले उत्तर कोरियामा भाइरस भित्र्याउने डरले किम जोङ उनले सीमा क्षेत्रमा सैनिक गस्ती बढाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।