काठमाडौं- नेकपामा आन्तरिक किचलो झन् झन् बढ्ने संकेत देखिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई लेखेको पत्र र सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सातै प्रदेशमा पठाएपछि स्थिति अति गम्भीर बनेको छ । कम्युनिस्ट पार्टीमा राजनीतिक प्रतिवेदनलाई निकै गम्भीर रूपमा लिइन्छ ।
अब स्थिति ओलीले सोचेजस्तो छैन । एउटा नेतालाई आफूतिर तान्ने र बहुमत पुर्याएर कुर्सी जोगाइरहने भन्ने कुरा त्यति सजिलो छैन । पार्टीका तल्ला कमिटीमा राजनीतिक प्रतिवेदन गइसकेपछि पार्टीमा दुई चिरा हुने निश्चित छ । त्यसैले परिस्थिति ओलीले सोचे जस्तो होइन, प्रचण्डले सोचे जस्तो गरी अघि बढेको छ ।
प्रचण्डको काम नै सधैं पुरानो कुरालाई ध्वस्त र नयाँ संरचना निर्माण गर्ने छ । त्यही ढंगले उनले माओवादीलाई एमालेमा मिलाएर नेकपा बनाए । अहिले नेकपामा पनि हलचल ल्याइरहेका छन् । यदि आफूले सोचेजस्तो भएन भने उनी विनिर्माण गर्न पनि तयार हुन्छन्, तर ओली भने त्यसो गर्न सक्दैनन् ।
अहिले सचिवालयमा प्रचण्डलाई पाँच भाइको साथ छ । झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ नआए पनि वामदेव गौतमले यसपटक पहिलेझै आफ्नो संकट मोचन गरिदिने विश्वास प्रधानमन्त्री ओलीलाई छ ।
त्यही भएर ओली सोमबार लाखौं रुपैयाँ खर्च गरेर ताप्लेजुङ र इलाम घुमघाममा निर्धक्कसँग निस्केको बताइन्छ । शनिबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा वामदेव गौतमले आफूलाई साथ दिने संकेत ओलीले गरेको तथ्य सार्वजनिक भएको छ ।
पछिल्लो समय वामदेवको बोली लर्बराउनुले उनी अन्तिमसम्म प्रचण्ड माधव नेपालको साथमा नरहने बालुवाटारको बुझाई छ । तर, राजनीतिक प्रतिवेदन तल्लो तहमा गइसकेकाले ओलीको प्रतिष्ठा भने अब भ्रष्टाचारीमा परिणत हुने खतरा पनि त्यतिकै छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।