काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं सरकारका नेतृत्वकर्ता पु्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्षबीचको विवादले नेकपा फुटको संघारमा पुगेको छ । यसबीच सरकारले निरन्तर रुपमा नेत्रबिक्रम चन्द विप्लवसमुहका नेता कार्यकर्ताहरुलाई निरन्तर पक्राउ गर्दै गइरहेको छ ।
आज मात्रै, विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले तिनलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा नं २ घर भएका लमजुङ इञ्चार्ज भनिने ४२ वर्षीय जङ्गबहादुर भण्डारी, लमजुङ जिल्ला, दोर्दी – ७ घर भएका जिल्ला सेक्रेटरी भनिने ४६ वर्षीय बिलबहादुर गुरुङ, मध्यनेपाल नगरपालिका वडा नं ४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य भनिने ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका–६ घर भएका जिल्ला कमिटी सदस्य भनिने ३४ वर्षीय रवीन्द्र नखोला रहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ थापाले बताए । उनका अनुसार समूहका कार्यकर्ता दोर्दी –७ घर भएका २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल– १० घर भएका २६ वर्षीय सुजन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तलाई पक्राउ गरी खाजतलासी गर्नेक्रममा उनीहरुले झोलाभित्र लुकाइराखेको विस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै पार्टीसँग सम्बन्धित कागजपत्र, नगद, ग १५ प ८१३७ नम्बर र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल सेट र सिमकार्ड पनि बरामद गरिएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।