काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि लामो समयपछि शुक्रबार नेकपा सचिवालय बैठक बसेको थियो ।
बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न माग एवं योजनासहित राजनीतिक प्रस्ताव अघि सारेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लामोसमयदेखि बैठक बस्न नमानिरहेका बेला एवं नेकपााई फुटाउन खोजिरहेको आरोप लागिरहेकाबेला प्रचण्डले विवाद समाधानका लागि भन्दै राजनीतिक प्रस्ताव अघि सारेका थिए ।
अध्यक्ष दाहालको राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्री ओलीका प्रिय पात्र एवं प्रेस सल्लाहकार सुर्य थापाले कडा शब्द प्रहार गर्दै निन्दा गरेका छन् ।
सल्लाहकार थापा ओलीका निकट पात्र भएकै कारण प्रचण्डविरुद्ध खरो रुपमा प्रस्तुत हुन सकेको अनुमान छ ।
ओलीलाई बहुमत दिलाएर एवं पाँचै वर्षका लागि प्रधानमन्त्री हुन दिन जसोतसो सहमति दिएका प्रचण्डविरुद्ध ओली नभइ ओलीका प्रेस सल्लाहकार खरो रुपमा प्रस्तुत हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, 'अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।
यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।