काठमाडौं- विभाजन हुने पटक—पटकका चर्चामाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विवाद झनै बल्झँदो छ । जिल्लामा भने नेताहरु गाउँ–गाउँ पुगेर कार्यकर्तालाई पार्टी नफुट्ने कुरामा आश्वस्त पार्न व्यस्त छन् ।
कार्यकर्तामा निराशा पैदा हुन नदिन जिल्लामा केन्द्रीय सदस्यदेखि प्रदेश र जिल्लाका विभिन्न तहका नेता कार्यकर्तामाँझ ‘यस्ता विवाद बेला बखत आइरहने भए पनि विभाजनको तहमा नपुग्ने’ भनेर कार्यकर्तालाई सम्झाउँदै छन् ।
आज जिल्लाको याङवरक गाउँपालिका वडा नं। ३ वडा कमिटीले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा पुगेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले विवाद हुँदैमा पार्टी नफुट्ने भनेर कार्यकर्तालाई सम्झाए । फिदिमबाट ओयाम पुग्नुअघि भण्डारीसहितको टोलीलाई हिलिहाङ र याङवरकका कार्यकर्ता वीच बाटोमै भेटेर पार्टी फुट्ला कि नफुट्ला भन्ने प्रश्न गरे ।
जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपाका जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद सापकोटाले ठूलो आशा र अपेक्षा गरेका कार्यकर्तामा ठूलो चासो र चिन्ता देखिनु सामान्य भएको बताए । केन्द्रमा देखिएका विवाद हल भई पार्टी पुनः क्रियाशील एवं सशक्त हुनेमा आफूहरु विस्वस्त रहेको बताउँदै सापकोटाले कार्यकर्तालाई सम्झाउने प्रयास गरे ।
पछिल्ला केही दिनमा करिब आधा दर्जन वडाका कार्यकर्तालाई भेट्नुभएका नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले आम कार्यकर्ता पार्टी विभाजनको विपक्षमा रहेको वताए ।
कम्युनिष्ट पार्टी र द्वन्द्वात्मक भौतिकवाद मान्ने सङ्गठन भएकाले बहसमै विभाजन हुन्छ भन्ने भ्रम नराख्न आफूहरुले आग्रह गर्दै आएको नेम्वाङको भनाइ छ ।
आम कार्यकर्ताले अन्तर पार्टी निर्देशनमा विश्वास गर्नुपर्ने र विभिन्न उदेश्यका साथ आउने प्रायोजित विषयहरुमा विश्वास गर्न नहुने नेम्वाङको ठम्याइ छ ।
विशेषतः स्थानीय तहमा पराजित भएका स्थानका कार्यकर्ताले विभाजनका हल्लाबारे ठूलो चाँसो र चिन्ता व्यक्त गर्ने गरेका छन् । गाउँपालिकाको नेतृत्वमा तत्कालीन नेकपा ९एमाले० विजयी भए पनि आफ्नो वडामा तत्कालीन दुवै दल मिल्दासमेत पराजित हुनुपरेको पीडा आज याङवरक—३ ओयामका नेकपा कायकर्तामा देखिन्थ्यो ।
“हिँजो हामी मिल्दा पनि वडामा पराजित हुँदा अहिले आम कार्यकर्ता चिन्तित छन् र अब जसरी जित्नुपर्छ भन्ने चाहन्छन्”, नेकपा वडा कमिटीका अध्यक्ष अनिश सेलिङले भने ।
सभाहलभरी खचाखच भरिएका कार्यकर्ताको उत्सुकता मेट्न उपस्थित कार्यकर्ता नेताले निकै गहन विषय बोलिरहँदा काठमाडौँका हरेक खबरमा अपडेट छन् । आम कार्यकर्ता सधैँ नेताहरुले पार्टी र देशको हित हुने सन्देश ल्याउन भन्ने चाहना राखेर बस्ने गरेको आफूले पाएको नेकपा याङवरक गाउँपालिका कमिटीका अध्यक्ष नरबहादुर गुरुङको भनाइ छ ।
उक्त कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष रहनुभएकी नेकपा जिल्ला सचिवालय सदस्य कमलकुमारी योङहाङले जनताका आवश्यकता पूरा गर्न कार्यकर्ता सधैँ खरो उत्रनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा याङवरक गाउँपालिका कमिटीका सचिव महेन्द्र योङ्याले विपक्षीले रोक्दैमा नेकपा नरोकिने र सबै स्थानमा विजय हाँसिल गर्नेगरी गतिविधि गर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।