काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेको छ। शनिबार भएको भेटमा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी अलग बनाएर जाने कुरा राखेसँगै नेकपाको विवादले उग्र रुप लिएको हो। त्यस्तै प्रचण्डले आज खुमलटारमा भएको आफू निकटका स्थायी कमिटिका सदस्यहरुलाई ब्रिफिङ गर्दै अबको प्रधानमन्त्री माधवकुमार नेपाल हुनुपर्ने बताएका हुन्।
त्यस्तै आजको भेटमा प्रचण्डले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र त्यसपछिको प्रधानमन्त्री माधव नेपाललाई बनाउने तयारी भएको जानकारी गराएका हुन्। प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षले २५ प्रतिशत हस्ताक्षर संकलन गरेर संसदको विशेष अधिवेशन बोलाउने तयारी पनि गरेको छ। संसदको विशेष अधिवेशन सुरु भएसँगै ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको हो।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा बैकल्पीक नाम दिनुपर्ने बाध्यता भएपछि माधव नेपालको नाम अघि सार्न लागेको जानकारी प्रचण्डले गृहमन्त्रीसमेत रहेका थापालाई गराए। प्रचण्डले बादलाई आगामी योजना सुनाइरहँदा प्रचण्ड निवास खुमलटारमा पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए। त्यस्तै नेकपाको केन्द्रको विवाद प्रदेश हुँदै गाउँसम्म पुगिसकेको छ। पछिल्लो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध केपी ओली निकटका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएसँगै विवाद चर्किरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।