बैतडी- बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।
दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने, “नगरका सबै विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन हुन्छन्, पठनपाठनका बेला विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएका छौँ ।”
यस्तै मेलौली नगरपालिकामा पनि भोलिदेखि पठनपाठन क्रियाकलाप सञ्चालनमा आउने भएको छ । जोखिम कम भएका क्षेत्रमा प्रत्यक्ष विद्यालयमै पठनपाठन हुने र बढी जोखिम भएका ठाउँमा टोल शिक्षाका माध्यमबाट कक्षा सञ्चालन हुने मेलौली नगरपालिकाका शिक्षा शाखाप्रमुख हरिश भट्टले जानकारी दिए ।
यसअघि सञ्चालनमा रहेका मेलौलीका विद्यालयहरु नगरपालिकामा कार्यरत कर्मचारी र स्थानीय बासिन्दामा कोरोना पुष्टि भएपछि गत असोज १८ गतदेखि बन्द गरिएका थिए । सङ्क्रमित कर्मचारी र स्थानीयवासीले कोरोना जितेपछि पुनः वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको मेलौली नगरपालिकाले जनाएको छ ।
कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै पुनः पठनपाठन सञ्चालन गरिन लागिएको हो । मेलौली नगरपालिकामा ४६ सामुदायिक र तीन निजी विद्यालयमा गरी आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
पुर्चौडीमा नगरपालिकामा ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । जिल्लामा हालसम्म ४६८ जनाका कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । यसमध्ये आठ जना मात्रै सक्रिय सङ्क्रमित छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।