बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ यसपालि स्थगित

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ यसपालि स्थगित

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 6.8K
    SHARES

  • ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ यसपालि स्थगित

    काठमाडौं-  प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ ।  

    तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने जनाइएको छ ।

    चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो । 

    चोक्काथुनाराणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताए ।

    जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए ।

     दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको १२ वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् ।

    सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा भयो । 

    गर्भ रहेको १२ वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजको आज्ञाबमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए । 
     
    त्यहाँ पुगेर उनीहरुले मैनको फूल चढाई नारायणको आराधना गरे । त्यसपछि नारायणले चोक्काथुनारायण ९तीननारायण० जात्राको परम्परा चलाउने वचन दिए । 

    नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि शुरुआत भयो ।
     
    मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ ।

    नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए ।
     
    नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा)बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पुजा गरिन्छ । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । 

    यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend