काठमाडौं । राप्रपाका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई मानहानीको मुद्दा हाल्ने आँट गर्न नेकपा तथा कांग्रेसलाई चुनौती दिएका छन्।
लोहनीले डाक्टर भट्टराईले बूढी गण्डकी परियोजनामा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नौ अर्ब भ्रष्टाचार गरेको आरोप झुटो हो भने मानहानीको मुद्दा हाल्नुपर्ने बताएका हुन्। ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरुलाई भ्रस्टाचारको आरोप लगाए छन् ।
यो गम्भीर कुरो हो । अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आट देखाउनु जरुरी छ’ लोहनीले फेसबुकमा लेखेका छन्। आरोप लगाउने भट्टराईले प्रमाण पेश नगर्ने र आरोपीतहरुले पनि अदालत जाने आँट नगरे घटनामा सबै मिलेको पुष्टि हुने पनि लोहनीको ठहर छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अघिल्लो हप्ता गृहनगर गोरखाको पालुंटारमा कार्यकर्तालाई सम्बोधन गर्नेक्रममा ओली, प्रचण्ड र देउवाले बूढी गण्डकी आयोजना कालोसूचीमा परेको चाइनाको गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय गरेर नौ अर्ब रुपैयाँ घोटला गरेको अराोप लगाएका थिए।
भट्टराईको उक्त अभिव्यक्ति पछि नेपाली कांग्रेस नेकपाले विज्ञप्ती जारी गरेर आरोप प्रमाणीत गर्न चुनौती दिइसकेका छन्। जवाफमा भट्टराईले सबै नेताको सम्पती छानविन र जनलोकपाल गठन गर्नुपर्ने बताएका छन्। उनले आवश्यक परे प्रमाणसहित आउने पनि दोहोर्याएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।