काठमाडौं - अधिकांश नेपाली आफ्नो धर्म र संस्कृतिप्रति निकै सचेत छन् । परम्परादेखिको धर्म संस्कृतिलाई आफ्नो जीवनशैली बनाउँदै आएका नेपालीहरु अहिले पनि त्यसलाई निरन्तरता दिने पक्षमा देखिन्छन् । यसैका लागि उनीहरु ज्योतिष विज्ञानको सहयोग लिने गरेका छन् ।
ज्योतिष विज्ञानका नाममा हुने गरेका र भइरहेका कतिपय विकृतिलाई चिर्न ज्योतिषकै ज्ञाताहरुलाई सकस परिरहेको बेला एक जना ज्योतिष विज्ञानका ज्ञाताले पुस्तक नै प्रकाशित गरेर आम नेपालीलाई मात्र होइन ज्योतिष विज्ञानमा रुची र चासो राख्ने विश्वकै नयाँ पुस्तालाई सहयोग पुर्याएका छन् ।
पछिल्लो पुस्ताका तर निकै चर्चित ज्योतिष विज्ञानका ज्ञाता डा. उत्तम उपाध्याय न्यौपानले ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक प्रकाशित गरेर ज्योतिष विज्ञानप्रति चासो राख्नेहरुलाई सहयोग पुर्याएका छन् । यो पुस्तकमा ज्योतिषसम्बन्धी सामान्य ज्ञानदेखि लिएर कतिपय विषयमा विस्तृत विवरणसमेत दिने प्रयास गरिएको छ ।
पुस्तकमा ज्योतिषशास्त्रका सिद्धान्त र संहितालाई संक्षेपमा विश्लेषण गरिएको छ । त्यसैगरी ग्रह नक्षत्रादिको गति स्थिति, आकाशीय घटना, ग्रहहरुको उदय, अस्त, सूर्यग्रहण, चन्द्रग्रहणलगायतका विषयमा पनि यो पुस्तकमा स्पष्ट पारिएको छ । त्यस्तै व्यक्ति विशेषका बारेमा शुभाशुभ फल, विवाह, ब्रतबन्ध, गृहारम्भ, गृह प्रवेश आदि विभिन्न विषयमा शुभ मुहूर्त प्रतिपादन गर्ने तरीका यो पुस्तकमा लेखिएको छ ।
ज्योतिषशास्त्रमा ९ वटा ग्रह मानिन्छन् । यो पुस्तकमा ९ वटै ग्रह ९सूर्य, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु० ले दिने शुभ तथा अशुभ फलका बारेमा गहन अध्ययन गरिएको छ । यस्तै यी नौ वटै ग्रहले व्यक्तिको कुण्डलीका प्रत्येक भावमा प्रभाव एवम् प्राचीन विस्तारसँग प्रस्तुत गरिएको छ । जुन शास्त्रले ईश्वरी जगतदेखि मानव जगतसम्म ठूलो पाएको छ ।
डा। उपाध्यायले होराशास्त्रका आधारमा लेख्नुभएको यो पुस्तकमा मेषादी राशीको र सूर्यादी ग्रहहरुको गति स्थिति स्वरुप स्पष्ट लेख्नुका साथै उच्च नीच स्थान परिचय र केन्द्र त्रिकोण स्थानको विवरण पनि दिनुभएको छ । यसपछि कुन भावबाट के–के कुरा हेर्ने, कुन ग्रहको वर्ण एवम् स्वभाव कस्तो हुन्छ आदि विषय प्रतिपादन गर्दै राजयोग कसरी बन्छ, ग्रहहरुको राम्रो र स्थानअनुसारको शुभाशुभ फल के कस्तो हुन्छ आदि विषय विस्तृत रुपमा लेख्नुभएको छ ।
यो पुस्तकबाट ज्योतिषको अध्ययन, चिन्तन र व्यवहारिक ज्ञान लिन चाहने व्यक्तिले निकै राम्रो लाभ प्राप्त गर्न सक्छन् । ज्योतिष विषयको अध्ययन गरेर त्यसबाट जिविकोपार्जन गर्नेतर्फ लाग्ने मनस्थिति बनाएका मानिसका लागि त यो पुस्तक अत्यन्त उपयोगी आधारग्रन्थ नै हुने छ ।
ज्योतिष कस्तो विषय हो, त्यसमा के कस्ता विषय वस्तु उपस्थित छन्, जन्मकुण्डीको कुन स्थानमा कस्तो स्थितिको कुन ग्रह बसेको छ, त्यसले आफ्नो जीवनको कुन उमेरमा के कस्ता प्रभाव पार्दछ भन्ने कुराको जानकारी राख्न चाहने मानिसका लागि पनि यो पुस्तक उपयोगी हुने छ । नेपाली भाषामा लेखिएकाले सर्वसाधारणका लागि पनि निकै आकर्षक एवम् प्रयोजनीय बन्नेछ ।
ज्योतिष तथा वास्तुविज्ञ डा. उपाध्यायले यसअघि ग्लोबल वास्तु नामक पुस्तक पनि प्रकाशित गरिसक्नुभएको छ । यो पुस्तक आम नागरिकमा वास्तुसम्बन्धी जानकारी हासिल गर्न निकै उपयोगी सावित भएको थियो ।
डा. उपाध्यायले नेपाल टेलिभिजनमा समेत ज्योतिष र वास्तुसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । उहाँ नयाँ पुस्ताका निकै लोकप्रिय ज्योतिष र वास्तुविद् मात्र नभएर सामाजिक सेवामा पनि सक्रिय रहँदैआएका छन् ।
२०७२ सालको भूकम्पका बेला र हाल कोरोना भाइरसको संक्रमणका बेला अप्ठ्यारोमा परेकाहरुलाई उनले विभिन्न ठाउँमा पुगेर सहयोग गर्दै आएका हुन् ।
सिन्धुपाल्चोकमा जन्मिएका डा. उपाध्यायले हाल पशुपति क्षेत्रमा कार्यालय नै स्थापना गरेर ज्योतिष तथा वास्तुसम्बन्धी सेवा दिँदै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।