काठमाडौँ - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदै छन् । उनी दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने उनका स्वकीय भानु देउवाले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री देउवा गत फागुन दोस्रो साता थप उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनी प्रतिनिधि सभाको निर्वाचन अगाडि विदेश जाँदा आलोचना भएको थियो । जेन-जी आन्दोलनका क्रममा गत वर्षको भदौ २४ गते सांघातिक आक्रमणमा परी घाइते भएका थिए ।
उनी कार्तिकमा सिंगापुर गएका थिए भने एक महिना भन्दा लामो बसाइपछि फर्केका थिए । यसपालि भने प्रधानमन्त्री वालेन्द्र साह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई जानकारी गराएरै स्वदेश फर्कन लागेकाले कुनै अवरोध बिना नै आउन सहमति गरेको बुझिएको छ । देउवाका स्वकीय सचिव देउवाले उनी विमानस्थलमा ओर्लेपछि सिधै महाराजगञ्जस्थित उनी बस्ने स्थलमा पुग्नेछन् ।
आज कुनै पनि अन्य कार्यक्रम नरहेको उनले जानकारी दिए । उनलाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवासमा पुर्याउने तयारी रहेको छ । यसअघि देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेका थिए ।
उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको रिटमा सर्वोच्च अदालतले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । कांग्रेसको संस्थापन इतर पक्षले शुक्रबारदेखि गर्न लागेको भेलामा देउवालाई सहभागी गराएर कार्यक्रम अगाडि बढाउने योजनामा इतर पक्ष छ । इतर पक्षको शुक्रबारे कार्यक्रमका लागि बीपी कोइराला पुत्र डा शशांक कोइरालालाई संयोजक तोकिएको छ ।
पार्टी सभापति गगनकुमार थापाको टिम पार्टीको १५ औँ महाधिवेशनको तयारी गरिरहँदा त्यसमा सहभागी हुनुको सट्टा समानान्तर तरिकाले अगाडि बढ्ने योजनामा इतर पक्ष छ । निर्वाचन आयोगले विशेष महाधिवेशन गरेर आएको गगन थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेसँगै कांग्रेसले थापाकै नेतृत्वमा प्रतिनिधि सभा निर्वाचनमा भाग लिएको थियो । थापाले नै टिकट दिएर संस्थापन इतरका कतिपय नेताले चुनाव लडेका थिए ।
अहिले भने फेरि आधिकारिक सभापति देउवा नै रहेको रटान रटेर शुक्रबारदेखि कार्यक्रम थालिँदैछ । उता सर्वोच्च अदालतले पनि गत बैशाख ४ गते गगन थापा नेतृत्वको कांग्रेसलाई नै औपचारिकता प्रदान गरेको थियो । तर अहिले आएर फेरि मुद्धा पुनरावलोकन गर्ने भएसँगै देउवा पक्ष एक्कासी जुर्मुराएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।