काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् ।
सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको बताएका हुन् ।
समाजको महत्त्वपूर्ण अङ्गको भूमिका पाएको प्रेस जगत्ले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘नेपालको राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको छ । रेडियो नेपालले अब देश विकासका निम्ति सृजनात्मक रूपमा आमनागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको छ । अब हाम्रा सूचना र सन्देश रोजगारी सृजनासँगै नवीन प्रविधिका माध्यमबाट देश विकासको गतिलाई अगाडि बढाउँदै आर्थिक समृद्धिको यात्रामा केन्द्रित हुनुपर्छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।