काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा बिहीबार बुद्धको जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शन आयोजना गरेको छ । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय ‘स्वयम् र समाजका लागि योग’ रहेको छ ।
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय दूतावासलाई धन्यवाद दिए ।
उनले अझ स्वस्थ र सन्तुलित समाज निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताए । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९ सय जनाभन्दा बढी योगमा अभिरुचि राख्नेहरु कार्यक्रममा सहभागी थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए ।
उनले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताए । दूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि उनले जानकारी दिए ।
यो कार्यक्रम भारतीय दूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन नेपालका विभिन्न सहरमा आयोजना गरेको कार्यक्रमहरुको श्रृंखलाकै एक हिस्सा थियो ।
भारतीय राजदूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रंगशालामा शुक्रबार निकै ठूलो योग प्रदर्शन आयोजना गर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।