काठमाडौँ- राजदूत राज्य वा राष्ट्रको प्रतिनिधित्व गर्ने आधिकारिक दूत हो। राजदूतलाई विशेष उच्च पदका कूटनीतिज्ञ मानिन्छ। सन् १८१५ भियना सम्मेलन र कूटनीतिक सम्बन्धमाथि सन् १९६१ को भियना सम्मेलन अनुसार, राजदूत र दूतावासका कर्मचारीलाई विदेशमा रहँदा राजनयिक प्रतिरक्षा र व्यक्तिगत सुरक्षा प्रदान गरिँदै आएको छ ।
अर्को मुलुकसँगको सम्बन्ध विस्तार गर्ने र सुदृढ बनाउने अख्तियारी प्राप्त राजदूतले बोल्ने बोली, देखाउने व्यवहार र अवलम्बन गर्ने शैलीलाई त्यो मुलुकको समग्र प्रतिनिधिमुलक विचारको रुपमा ग्रहण गर्ने आममान्यता रहेको छ।
विगतमा चिनियाँ राजदूत तथा कूटनीतिज्ञहरुको छवि फरक थियो । चिनियाँ कूटनीतिज्ञ हतपत विवादमा पर्दैन थिए । बोल्दा धेरै विचार गरेर बोल्थे । कडा र नियन्त्रित कम्युनिस्ट शासनको निर्देशन भन्दा तलमाथि हुँदैनथेँ । नेपालमा पछिल्ला वर्षहरुमा चिनियाँ राजदूत विवादमा पर्न थालेका छन् ।
विडम्बना भन्नुपर्छ, हिमालपारी रहेको उत्तरी छिमेकी मुलुकको राजदूत भने सामाजिक सञ्जाल ट्विटरमार्फत पत्रकारलाई सार्वजनिक रुपमा धम्की दिने तहमा ओर्लिएका छन् । पश्चिमा मुलुक र दक्षिणी छिमेकी भारतले नेपाली राजनीतिमा चीनलाई 'ड्रागन'को रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ ।
जसले नाकबाट आगोको मुस्लो फ्याँक्छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ भौतिकरुपमा 'भयानक अजिंगर वा सर्पजस्तो ड्रागन' नदेखिए पनि बोली र व्यवहारमा भने आगो ओकल्ने काम गरेका छन् ।
नेपालमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्ने अघिल्लो दिन टक्सार पत्रिका सम्पादक गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जाल ट्विटरमा लेखे - 'पोखरा विमानस्थलका लागि लिइएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ ।' उनले यसमा न कुनै देश न त कुनै व्यक्ति केन्द्रित नै गरेर यो ट्विट लेखेका थिए । करिब २४ घण्टाभन्दा बढी समयपछि गणतन्त्र दिवसको दिन नेपालका लागि चिनियाँ राजदूत सोङले सोही ट्विटरमा रिप्लाई गर्दा 'माफी माग्न' चेतावनी दिए ।
उनले उक्त ट्विटमा लेखिएको विषय अहिलेसम्मकै सबैभन्दा ठूलो झु्ट भएको संज्ञा दिए । विश्वको पहिलो नम्बरको अर्थतन्त्र बन्ने दौडमा रहेको जनवादी गणतन्त्र चीनका दूतले भने व्यक्तिगत रुपमा पुगेर पत्रकारलाई माफी माग्न धम्की दिएको विषयले अहिले समाज तातिरहेको छ ।
अधिकांशले एक मुलुकको दूतको शैलीको चर्को आलोचना गरेका छन् । कुनै मुलुकको राजदूतले अर्को स्वतन्त्र मुलुकमा पत्रकारलाई सामाजिक सञ्जालमा धम्क्यउनु सरकारको विश्वसनीयतामा देखिएको कमजोरीको रुपमा चित्रण गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत सोङले कुनै पनि विषयमा चित्त नबुझेको अवस्थामा पररराष्ट्र मन्त्रालयमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्न सक्थे । तर, 'टोले गुण्डा' शैलीमा सामाजिक सञ्जालमा व्यक्ति केन्द्रित भएर धम्क्याउने गैरकूटनीतिक र गैरजिम्मेवार शैली अपनाए । पूर्वपरराष्ट्रमन्त्री मधुरमण आचार्यले परराष्ट्र मन्त्रालयले राजदूतलाई यस्ता गतिविधिले पुर्याउने असर र 'पब्लिक डिप्लोमेसी' का सीमतताबारे स्मरण गराउनुपर्ने उल्लेख गरेका छन् ।
मिडिया एक्सन नेपाल र फ्रिडम फोरमलगायतका प्रेस स्वतन्त्रताको पक्षमा काम गरिरहेका संस्थाहरुले चिनियाँ राजदूतले धम्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास मात्र नभएर सार्वभौम नेपालको प्रेस स्वतन्त्रताका आधारभूत मान्यता र लोकतान्त्रिक मूल्यहरुलाई बेवास्ता गरेको जनाएका छन् ।
यो घटना आज एकाएक चिनियाँ राजदूत किन यसरी जंगिए अथवा लोकतान्त्रिक मुलुकको पत्रकारको स्वतन्त्रताको अधिकार हनन हुने गरी किन प्रस्तुत भए भन्ने विषय बुझ्न आवश्यक छ । वास्तवमा भन्दा नेपालमा कम्युनिस्टहरुलाई मिलाएको अवस्थामा चीनले आफू अनुसार काम गराउनसक्छ भन्ने भ्रम उत्तरी छिमेकीलाई देखिन्छ ।
जब-जब नेपालमा कम्युनिस्टहरुले सत्ता सञ्चालन गरेका छन्, तब-तब नेपालका चिनियाँ राजदूतहरु आक्रामकरुपमा प्रस्तुत भएको देखिन्छ । नेपालको कम्युनिस्ट सत्तालाई पनि प्रेस स्वतन्त्रतालाई पटक-पटक कुण्ठित गर्ने प्रयास नगरेका होइनन् । अब त्यसमा थपिएको छ- अधिनायकवादी चिनियाँ कम्युनिस्ट सत्ताका दूतहरु ।
चिनियाँ राजदूत सोङ यसअघि पनि पटक-पटक विवादित अभिव्यक्ति दिँदै आएका छन् । तर, परराष्ट्र मन्त्रालय भने मौन बसेर समर्थन गरेकै कारण चिनियाँ राजदूत सोङ आक्रामकरुपमा सामानिक सञ्जालमा व्यक्ति लक्षित भएर धम्की दिने दुस्साहस गरेका छन् । राजदूत सोङ नेपालका लागि राजदूत भएको १०० दिन पनि नकट्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गतको परियोजना भएको भन्दै विवाद सिर्जना गरेका थिए ।
२०८० भदौ तेस्रो साता 'नेपाल चाइना हिमालय फ्रेण्डसिप, नेपाल' नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको एक कार्यक्रममा चिनियाँ राजदूत सोङले भारतविरुद्ध आगो ओकलेका थिए । उनले भनेका थिए- दुर्भाग्यवश, तपाईँहरुको भारत छिमेकी छ । तर, भाग्यवश भारत तपाईँहरुको छिमेकी छ । उनी यत्तिमै रोकिएनन् ।
'तपाईँले बिजुली व्यापार घाटामा गर्नुभयो । तपार्ईँहरुको गर्ने उत्पादनमध्ये एक हो– बिजुली । तपाईँहरु सोच्नुहुन्छ बिजुलीले तपाईँको देशमा स्वतन्त्रता ल्याउँछ ।' एक अधिनायकवादी कम्युनिस्ट सत्ताको प्रतिनिधि पात्रले बसिरहेको मुलुक र त्यो मुलुकको अर्को छिमेकीको विषयमा गरिएको यो टिप्पणी अमर्यादित र गैर-कूटनीतिक थियो। त्यो समयमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता मौन रह्यो ।
कोरोना महामारीको समयमा २०२० फेब्रुअरी १८ मा द काठमाण्डू पोष्टमा 'चीनको गोप्यताले कोरोना संकट थप बल्झिँदै' शीर्षकमा प्रकाशित एउटा लेखका सम्बन्धमा काठमाडौंस्थित चिनियाँ दूतावासले पोष्ट र सम्पादकलाई धम्की दिँदै वक्तव्य सार्वजनिक गरेको थियो।
उक्त विज्ञप्तिमा चिनियाँ दूतावासले पोष्टमा प्रकाशित लेख र त्यससँगको छापिएको तस्बिरमा आपत्ति मात्र नभई 'थप कारबाही हुनसक्ने' धम्कीसहित पोष्टका प्रधान सम्पादकलाई नै मानमर्दन हुने हदसम्म भाषा प्रयोग गरिएको थियो । नेपालस्थिति चिनियाँ दूतावासले हरेक वर्ष पत्रकारहरुलाई चीन भ्रमणका लागि लैजाने गरेको छ । ती पत्रकारहरुले आएर चीनका विषयमा चुइँक्क बोल्नसक्ने हिम्मतसमेत गर्न सकेका छैनन् ।
पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको रक्षा गराउने जिम्मा लिएका पत्रकार महासंघलगायतका संस्थाहरु पनि कानमा तेल हालेर सुतेका देखिन्छ । सरकारको मौनताले नेपालको लोकतन्त्र र प्रेस स्वतन्तामाथि हमलामा चिनियाँ दूतलाई हौसला बढिरहेको छ ।
यसमा परराष्ट्र मन्त्रालयले तत्काल राजदूत सोङलाई बोलाएर सार्वजनिक माफी माग्न लगाउनुको विकल्प छैन । यदि गर्ने हिम्मत यो सरकारले नजुटाएमा आगामी दिनमा थप क्षति व्यहोर्नुपर्ने स्थिति आउँदैन भन्न सकिन्न ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।