काठमाडौं -स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका कारण नेपाली कांग्रेसको साखमा धक्का लागेको छ । स्टन्टबाजी गर्न मन पराउने उनको स्वभावकै कारण कांग्रेसले एकपछि अर्को धक्का खाँदै आएको छ ।
आफूलाई चतुर र हक्की नेता भन्न मन पराउने बस्नेत यतिबेला प्रा.डा. गोविन्द केसीलाई गिरोहबाट सञ्चालित भएको भन्ने अभिव्यक्तिका कारण विवादमा परेका छन् ।
उनको त्यो अभिव्यक्तिलाई चुनौती दिँदै केसीले बस्नेतलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेका छन् । मंसिर २९ गतेदेखि केसी आमरण अनशनमा बस्दैछन् । केसीले बस्नेत माफियासँग मिलेर स्वास्थ्य क्षेत्रमा मनपरी निर्णय गरेको आरोप लगाएका छन् ।
यस्तै, बस्नेत नुवाकोटको त्रिशूली अस्पतालसहित अन्य तीन अस्पतालमा खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिन काण्डमा मुछिएका छन् ।
बागमती प्रदेशको बजेटमा तीन जिल्लाका लागि सिटी स्क्यान मेसिन किन्ने तयारी भइरहेको छ। तीन अस्पतालमा मिलेमतोमा तीनवटा सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा करिब नौ करोड कमिसनको खेल भएको सार्वजनिक भएको छ ।
सुरुमा त्रिशुली अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्न तयार पारिएको स्पेशिफिकेशनका प्राविधिक मापदण्डहरू निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरी बनाइएको, निश्चित कम्पनीको सप्लायर्ससँग मिलेर करिब पाँच करोडमा आउने सिटी उनीहरूले आठ करोडमा किन्ने तयारी गरिरहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत सुरु गरिसकेको छ ।
सेटिङमा सिटीक्यान खरिद गर्ने समूहमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशकी वन तथा वातावरणमन्त्री मसिना खड्का, मेडिकल व्यवसायी विकास सर्जिकलका अक्कलबहादुर भण्डारी र हेम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, मन्त्री बस्नेतका भान्जा पर्ने ज्ञानेन्द्र थापासमेत मुछिएका छन् ।
कोरोनाकालमा बस्नेतले लाखौंका स्वास्थ्य सामग्री सिन्धुपाल्चोकका जनतालाई वितरण गरेका थिए । केही अस्पतालमा पिसिआर मेसिनसमेत जोडेका थिए । बस्नेतको गोजीबाट एक रुपैयाँ पनि खर्च नभएको सिन्धुपाल्चोकका कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।
बस्नेतले वितरण गरेको स्वास्थ्य सामग्री सबै मेडिकल व्यवसायी अक्कलबहादुर भण्डारी र रमेशसिंह भण्डारीले किनेका थिए । भण्डारी दाजुभाइ हुन् । त्यसकै गुण तिर्न बस्नेतले मसिना खड्कालाई बागमती प्रदेशको वनमन्त्री बनाएको बताइन्छ ।
वीर अस्पतालमा करारका कर्मचारी निकालेर फेरि करारमै कर्मचारी भर्ना प्रकरण पनि विवादमा परेको छ । मन्त्री बस्नेतले आफ्ना कार्यकर्ता भर्ती गर्न करारका कर्मचारी हटाएर हतारहतारमा विज्ञापन खुलाई आफ्नालाई मात्र दरखास्त हाल्न लगाइएको थियो । यो विषयसमेत अख्तियारमा उजुरी परेको छ ।
बस्नेतकै कारण वीर अस्पतालका कर्मचारी आन्दोलित बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतका नियुक्ति र सरुवा बढुवामा समेत मन्त्री बस्नेतले मोटो रकम लिने गरेको बुझिएको छ । एक महिनामा दुईचोटि विदेश भ्रमणमा जाने गरेका बस्नेतले विदेशमै आर्थिक डिल गर्ने गरेको बुझिएको छ ।
उनको विदेश भ्रमणमा श्रीमती छुट्दिनन् । स्नातकोत्तर उत्तीर्ण गरे पनि अंग्रेजी भाषामा दख्खल नभएकै कारण बस्नेतले श्रीमतीलाई भ्रमणमा लैजाने गरेका छन् । जुन जुन निकायमा नियुक्ति हुनुपर्ने हो, ती ठाउँमा आउन चाहने व्यक्तिसँग विदेशमै डिल हुने गरेको स्रोतले बतायो ।
उनको निजी सचिवालयमा रहेका सुनकोशी गाउँपालिकाका पूर्वअध्यक्ष विनोद जिसीले राजनीतिक नियुक्तिमा मोलमोलाइ गर्ने गरेका छन् ।
उनको सचिवालयमा रहेका विश्वरुप खड्कादेखि दीपक दुलालसमेत सबै कमाउधन्धामा लागेको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
बस्नेतकै कारण स्वास्थ्य मन्त्रालय गन्हाएपछि नेपाली कांग्रेसले सबै मन्त्रीको कार्यसम्पादनबारे एकपटक बोलाएर समीक्षात्मक छलफल गर्ने र प्रभावकारी काम नगर्नेलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
सरकारमा रहेका कांग्रेसका एकजना मन्त्रीले पनि प्रभावकारी काम गर्न नसकेको पार्टीले मूल्यांकन गरेको छ । मन्त्री हटाउने १ नम्बर सूचीमा स्वास्थ्यमन्त्री बस्नेत परेका छन् ।
स्वयं पार्टी सभापति शेरबहादुर देउवासमेत बस्नेतको कार्यशैलीदेखि असन्तुष्ट रहेको नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।