काठमाडौं - एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन पाँचौ दिनसम्म पनि जारी छ ।
संस्थापन पक्षले पेलेर जाने नीति लिएपछि भीम रावल पक्षले कडा प्रतिवाद गर्ने देखिएको छ । रावल पक्षले आफ्नो पक्षलाई पदाधिकारीमा नसमेटिए निर्वाचनमै जाने चेतावनी दिएपछि पार्टी अध्यक्ष केपी ओली पक्ष गलाउने रणनीतिमा लागेको छ ।
न नयाँ कार्यसमिति टाँसेको छ, न चुनाव नै हुन दिएको छ । एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावल पक्षले उपसचिव आफूलाई नदिए निर्णय नमान्ने चेतावनी दिएको छ ।
रावल पक्षबाट अध्यक्षमा भरतबहादुर साउदले उम्मेदवारी दिएका छन् । ओली समूहका दुईजनाले उम्मेदवारी फिर्ता लिए पनि रावल पक्षका साउदले कायमै राखेका छन् ।
रावल पक्षले उपसचिवमा कञ्चनपुरका नरबहादुर बिकलाई अघि सारेको छ । संस्थापन पक्षका उपसचिवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए आफूले अध्यक्ष, सचिव र उपसचिवका उम्मेदवारको उम्मेदवारी यथावत् रहने सो पक्षले चेतावनी दिएपछि अधिवेशन लम्बिएको हो ।
अध्यक्षमा उम्मेदवारी दिएका अछामका कृष्णप्रसाद जैसीको नाममा सहमति गर्नेगरी संस्थापन पक्षका नेताहरूले कमल तिमिल्सिना र वचनबहादुर सिंहको उम्मेदवारी फिर्ता गराएका छन् ।
नेता भीम रावल निकट मानिने साउदले उम्मेदवारी फिर्ता लिए पदाधिकारी सर्वसम्मत चयन हुनेछन् । त्यसका लागि संस्थापन पक्षले उपसचिव साउद पक्षलाई दिनुपर्नेछ ।
संस्थापन पक्षका नेताहरू साउदबाट आएको प्रस्तावका विषयमा छलफलमा जुटेका छन् । एमालेको दशौं अधिवेशन पनि भीम रावलकै कारण निर्वाचनमा धकेलिएको थियो ।
केपी ओलीले आफ्नो समूहका नेताहरूको नाम पदाधिकारी र सदस्यमा समेटेर नयाँ नेतृत्व चयन गरेका थिए । तर रावलले नमान्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिएपछि ओली चुनावमा जानुपरेको थियो ।
अहिले रावलको गृहप्रदेशमा पनि त्यही घटना दोहोरिने संकेत देखिएको छ । यदि ओली पक्षले उपसचिव दिएमा रावल पक्ष नयाँ नेतृत्व मान्न तयार हुनेछ । नदिए चुनाव हुने सम्भावना पनि उत्तिकै छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।