काठमाडौं - एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनको विषयलाई लिएर पार्टीमा ठूलै लफडा देखिएको छ ।
पार्टी अध्यक्ष केपी ओलीले बागमती प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुंगेलको समर्थन गरेको चर्चापछि उनी निकट नेता गोकुल बासकोटाले शुक्रबार सामाजिक सञ्जालमा क्षेप्यास्त्र प्रहार गरे ।
जुन क्षेप्यास्त्रको ओलीले जवाफ दिनुपरेको छ । ‘मेरो आधिकारिक ब्याख्याता म मात्र हुँ अरु होइन । र, फाइनल्ली भन्छु– म धागो छिनेको चंगा होइन,’ बासकोटाले लेखेका थिए ।
बासकोटा बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहालको पक्षमा छन् । ढुंगेलको पक्षमा महेश बस्नेत छन् । पार्टीले अध्यक्षका तीन उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाउँदै ढुंगेललाई नेतृत्व दिन दबाब दिएको चर्चापछि बासकोटाले कडा स्टाटस लेखेका हुन् ।
कोशी प्रदेशको अधिवेशनमा सहभागी हुन विराटनगर पुगेका ओलीले आफूले ढुंगेलको पक्ष नलिएको स्पष्टीकरण दिनुपरेको छ । ‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ’, ओलीले भने, ‘अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुन्छ । मैले कसैको पक्ष लिएको छैन ।’
बासकोटा ओली निकट नेता हुन् । तर महाधिवेशनयता उनी ओलीसँग टाढिँदै गएका छन् । त्यसैले भक्तपुरका महेश बस्नेतले ओलीको समर्थन आफ्नो पक्षका उम्मेदवारलाई रहेको प्रचार गर्न सफल भएका हुन् ।
यही मौकामा बासकोटाले सामाजिक सञ्जालमा लेखेपछि ओलीले ढुंगेललाई आफ्नो समर्थन नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । यसकारण अब एमाले बागमती अध्यक्षमा कृष्णप्रसाद दाहालको सम्भावना बलियो बन्दै गएको चर्चा सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।