काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेलाई अहिले प्रदेश अधिवेशनको चटारो छ ।
लुम्बिनीपछि बागमती प्रदेशमा नयाँ नेतृत्व चयनको प्रयास जारी छ । कर्णालीमा तीन दिनअघि अधिवेशन उदघाटन भएको थियो ।
कोशी प्रदेशमा शुक्रबार अधिवेशन उदघाटन हुँदैछ । अब गण्डकी र सुदूरपश्चिम अधिवेशन हुन बाँकी छ । तर प्रदेश अधिवेशनले एमालेमा तमासा देखिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्न निर्देशन गरेका छन् । तर लुम्बिनीमा चुनावबाटै नेतृत्व चयन भयो । अहिले बागमती प्रदेशमा सहमतिको प्रयास जारी छ ।
बागमती प्रदेश अधिवेशन गत सोमबारदेखि जारी छ । नेतृत्व चयनका लागि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रस्साकस्सी चलिरहेको छ ।
तर, चौथो दिनसम्म पनि न सहमति हुन सकेको छ, न निर्वाचन नै सुरू भएको छ । केवल निर्वाचन तालिका फेरबदल गर्ने काम भइरहेको छ । सहमतिका नाममा निर्वाचन कार्यतालिका पटकपटक सारिँदै आएको छ ।
सहमति गराउने नाममा थकाउने र गलाउने नीतिमा एमाले नेतृत्व देखिन्छ । बुधबार नै सुरू हुने भनिएको मतदान शुक्रबार बिहानसम्म सरेको छ ।
अध्यक्षमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उम्मेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
केशरबहादुर बुढाथोकी, केशव पाण्डे र सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । दाहाल र ढुंगेलको नाममा सहमतिको प्रयास सफल नभएपछि आज मतदान गर्ने एमालेको तयारी छ । नेतृत्वको आकांक्षी चुनावमै जान तयार छन् ।
तर एमाले नेतृत्व भने चुनावमा जान डराएको छ । त्यही भएर सहमतिको नाममा गलाउने र थकाउने प्रयास भइरहेको छ ।
दाहाललाई गोकुल बासकोटा र ढुंगेललाई महेश बस्नेतको समर्थन छ । केपी ओलीले सहमति गर्न दबाब दिए पनि बासकोटा र बस्नेत टसमस भएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।