काठमाडौं - मधेस आन्दोलनपछि पहिलोपटक सर्लाही सदरमुकाम मलंगवा अशान्त देखिएको छ । स्थानीयहरू दुई समुदायको विवादलाई लिएर त्रासमा छन् ।
गणेश मूर्ति सेलाउन लगिरहेका बेला बिहीबार साँझ दुुई समुदायबीच भएको विवादले उग्ररूप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु जारी छ ।
दंगा नियन्त्रण हुन सकेको छैन । ठाउँठाउँमा प्रहरी परिचालन भए पनि तोडफोडलगायतका अन्य हिंसात्मक गतिविधि रोकिएको छैन । मुस्लिम समुदायका करिब ५० जनाको हतियारधारी समूह आएपछि हिन्दु समुदायका व्यक्तिहरूको भगाभाग भएको थियो ।
उनीहरूको हातमा तलवार, खुकुरीलगायतका हतियार रहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । हतियारधारी समूहले मलंगवा नगरपालिका–४ बस्ने अजय ठाकुर, बिकाउ यादव र मलंगवा नगरपालिका–३ का दर्जनौं घरमा तोडफोड गरेका थिए ।
सो समूहले घरको ढोका, ग्रील, झयालहरू फुटाएको स्थानीयहरूको भनाइ छ । साथै, परालको टालीमा आगो लगाएर दंगा गरेपछि अहिले धेरैजसो स्थानीय घर छोडेर अन्यत्र गएको अवस्था छ, केही बस्ती खाली भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी दीपेन्द्र पञ्जियारले समाजिक सञ्जालमा यस विषयलाई लिएर अनावश्यक टीकाटिप्पणी भइरहेको बताए ।
उनले घर जलाएको कुनै सत्यता नभएको र सामाजिक सघटनामाद्भाव कायम राख्न सबैमा आग्रह गरेका छन् । घटनापछि स्थानीय प्रशासनले मलंगवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाउँदै आएको छ ।
घाइते रूपेश यादवलाई चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले मोहमद अजमद मिकरानीलाई पक्राउ गरेको छ । मोहमदसहित पाँचजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
दुई पक्षबीचको झडपमा प्रहरीसहित आठजना घाइते भएका थिए, जसमध्ये मलंगवा निवासी रूपेश यादव गम्भीर छन् । घटनापछि हरेक दिनजसो सदरमुकाम मलंगवामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मलंगवा अशान्त हुनुमा खानेपानी मन्त्री महिन्द्र राय यादवमाथि आरोप लगाइएको छ ।
उनकै निर्देशनमा हूलहुज्जत गर्ने, दंगा फैलाउने समूहलाई प्रशासनले कारबाही नगरेको स्थानीयको गुनासो छ । मोहमद मिकरानीलाई मन्त्री यादवले नै कारबाही नगर्न प्रहरी प्रशासनलाई दबाब दिएकाले दंगाको अवस्था रहेको बताइन्छ । मन्त्री यादव अहिले बेइजिङमा छन् । उनी प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।