काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सरकारमाथि आक्रोश पोखे ।
ओलीले केही कुरा खुलस्त बताए । केही कुरा संकेत मात्रै गरे । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीति फेरि तान्ने प्रयासप्रति असन्तुष्टि जनाए ।
केही एमाले नेताहरूले पछिल्लो समय भण्डारीलाई एमालेमा फर्केर पुनः सक्रिय राजनीति गर्न अनुनय विनय गर्दै आएका थिए । जसलाई लिएर ओलीले थ्रेट महसुस गरेको प्रस्टै बुझ्न सकिन्थ्यो ।
ओलीले विद्यादेवीलाई तानेर एमालेमा विवाद ल्याउन खोजिएको भन्दै त्यसतर्फ नलाग्न सचेत गराए । एमाले नेताहरूले भण्डारीलाई भेट्नु सामान्य भएको उनको भनाइ थियो ।
ओलीले भण्डारी पहिले एमालेकै उपाध्यक्ष भएकाले यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको पनि बताए । केही समययता एमालेमा ओलीको विकल्पमा विद्यादेवी भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने गरी आवाज उठ्दै आएको छ ।
ओली अहिले जुन ढंगले चलेका छन्, त्यसले चाँडै एमाले विघटनको दिशामा पुग्ने भन्दै सर्वस्वीकार्य नेतृत्वका लागि विद्यादेवीको विकल्प खोजिएको थियो ।
केही एमाले नेताको यो प्रयासलाई ओलीले च्याप्टर क्लोज गरिदिएका छन् । आइतबार एमाले पार्टी कार्यालयमा प्रायः सबै नेता उपस्थित थिए ।
त्यही भएर ओलीले विद्यादेवीको कुरा निकालेर चलखेल गर्न लागेका नेताहरूलाई दनक दिएका हुन् । भण्डारीले आफू निकट नेताहरूसँग पुनः सक्रिय राजनीतिको कुनै चाहना नभएको बताउने गरेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।