काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको झन्डै एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान व्यापारी दीपक मल्होत्रातिरै सोझिएको छ।
मंगलबार भन्सार पास भएर बाहिर जान लागेको झन्डै एक सय किलो सुन तस्करीमा प्रकरणमा मल्होत्राको संलग्नता हुन सक्ने अनुसन्धान गरिरहेका अधिकारीको भनाइ छ।
मोटरसाइकलको ब्रेकसुमा लुकाएर ल्याएको सुन झन्डै एक सय किलो रहेको हुन सक्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन्।
प्रहरीले अहिलेसम्म रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरेको छ ।
अनुसन्धानमा खटिएका एक कर्मचारीका अनुसार व्यापारी मल्होत्रा यो प्रकरणमा तानिन सक्ने बताउँछन्। उनका अनुसार थप व्यक्ति पनि संलग्न भएको हुन सक्ने आशंका छ।
तर अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले कसको भूमिका केकस्तो हो भनेर खुलिसकेको छैन। विमानस्थलका विभिन्न संरचनासमेत मल्होत्राले भाडामा लिएर निर्माण र पुनर्निर्माणको काम गरिरहेका छन्।
सोही कारण सय किलो सुन सजिलै एयरपोर्टबाट बाहिरिसकेको थियो । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट जाँचपासपछि मंगलबार नै २ बजे ट्याक्सीमा सुन बाहिर निकालिएको थियो ।
त्यसको एक घण्टापछि सिनामंगलबाट सुन बरामद भएको हो । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले अप्रेसन चलाएको हो । बरामद गरिएको सय किलो सुन १ सय ६० टुक्रामा पाइएको छ ।
क्याथे प्यासिफिकको विमानबाट आएको थियो । विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा२ च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो ।
कुनै समय नेपाली चलचित्रका निर्माता दीपक मल्होत्रा अहिले ठूला व्यवसायीका रूपमा कहलिएका छन् । नेपालको बजारमा झन्डै ७० प्रतिशत मोबाइल उनले नै आयात गर्दै आएका छन् ।
आफ्नो व्यवसायका लागि सरकारको नीतिसमेत परिवर्तन गराउन सक्ने हैसियत राख्ने मल्होत्राको डिल्लीबजार कालिकास्थानमा १६ तले अपार्टमेन्ट छ । मल्होत्राले सुरुमा ‘चाहना’ चलचित्र निर्माण गरेका थिए ।
जसको निर्देशन नारायण पुरीले गरेका थिए । पचासको दशकमा निर्मित चलचित्रले सरोज खनाललाई निकै चर्चामा ल्याएको थियो । चलचित्र क्षेत्र छाडेर मल्होत्रा मोबाइल आयातमा लागे ।
उनले चीनबाट सामसुङ मोबाइल आयात गर्न थाले । जसबाट उनी एकाएक अर्बपति बने । मल्होत्राको तत्कालीन एमाले नेता बामदेव गौतमसँग सम्बन्ध निकै सुदृढ भयो ।
त्यही राजनीतिक सम्बन्धको फाइदा उठाउँदै मल्होत्राले चीनलगायतका विभिन्न देशबाट नेपालमा सुन ओसार्न थाले । वामदेव गृहमन्त्री भएकाले बेला एयरपोर्टबाट गाडीका गाडी सुन तस्करी हुने गरेको त्यतिबेलै समाचार आउने गर्थे ।
मल्होबाको एमाले अध्यक्ष केपी ओलीसँग पनि निकै हार्दिक सम्बन्ध छ । जुन पार्टीको सरकार बन्यो, त्यो पार्टीका शीर्ष नेतासँग सम्बन्ध राम्रो बनाउन माहिर मल्होत्रा चर्चित अभिनेत्री प्रियंका कार्कीका मामा पनि हुन् ।
प्रियंकाकी आमा रक्षा मल्होत्रा दीपक मल्होत्राकी बहिनी हुन् । पूर्वमिस नेपाल जेनिसा मोक्तान दीपककी बुहारी हुन् ।
ओली प्रधानमन्त्री भएका बेला मल्होत्रा उनीसँगै चीन भ्रमणको टोलीमा परेका थिए । जुन निकै विवादमा परेको थियो । मल्होत्राका विभिन्न कम्पनीमा प्रहरीका अवकाशप्राप्त अधिकृतहरूले जागिर खाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।