काठमाडौं पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै नेपाल एयरलाइन्समा यात्रुको सामान हराउनु, चोरी हुनु, लगेज फुटाउनु सामान्य हुँदै गएको छ ।
पर्यटनमन्त्री सुदन किराँतीले जतिसुकै राम्रो काम गरेको स्टन्टबाज गर्न खोजे पनि विमानस्थलमा कार्यरत कर्मचारी, एयरलाइन्सका कर्मचारीको बानी सुध्रिन सकेको छैन ।
सर्वसाधारणको मात्र होइन, सरकारका उच्च तहका कर्मचारीको सामान पनि हराउने गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका ‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलबाट प्रमाणसहित आफू ठगिएको तथा लगेजका सामान हराएको जानकारी गराएपछि मन्त्री किराँतीले न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्।
उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो गर्दै फेसबुकमा लेखेपछि किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
‘धन्यवाद नेपाल सरकार अनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट । मैले ६ वर्ष कोरियामा कमाएको पैसा एकपटक पनि हुन्डी नगरी नेपाललाई रेमिट्यान्स पठाएको सम्मानस्वरूप दुईवटा मोबाइल ल्याएबापत नेरु ४४७३४ लिएको छ र मेरो लगेजमा ल्याएको सामानमध्ये २५ प्रतिशत सामान मेरो लगेजबाट हराएको छ र पटकपटक एयरपोर्ट जाँदा सीसीटीभी हेर्दिन आग्रह गर्दा राम्रो कुरासमेत नगरेको कुराले मजस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीहरू अत्यन्तै दुःखी भएको र हुने कुरा सम्बन्धित ठाउँसम्म पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु।’
जवाफमा किराँतीले लेखेका छन्, ‘यो घटनाले दुःखित भएँ। परदेशमा दुःख गरेर घर फर्कंदा देखिने यस्ता कुसंस्कार अझै कति भोग्नुपर्ने ? सम्बन्धित निकायहरूमा यो विषय जानकारी गराएको छु। दामुजीलाई न्याय हुने र यस्ता घटना न्यूनीकरणका लागि आवश्यक कदम निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउन लागिपर्नेछु। सबै सरोकारवालाप्रति आभार।’

यसैक्रममा आइतबार कतार एयरवेजबाट नेपाल आएकी सगुन पाण्डेले आफ्नो लगेज तीन दिनदेखि हराएको गुनासो गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपाल आएको तीन दिन बितिसक्दा पनि आफूले एउटा पनि सामान नपाएको उल्लेख गरेकी छन् । एयरपोर्टमै चोरी भएको हो वा एयरलाइन्समा चोरी भएको हो भन्ने आफूलाई कुनै जानकारी नदिइएको उनको दुखेसो छ । यस विषयमा विमानस्थल र कतार एयरलाइन्सका प्रतिक्रिया निराशाजनक रहेको उनको भनाइ छ ।
‘२९ जुनमा म कतार एयरवेजबाट नेपाल एयरपोर्टमा अवतरण भएँ । मेरो आगमन भएको तीन दिन बितिसक्यो, तर नेपालमा एयरपोर्ट प्राधिकरण र कतार एयरलाइन्सको लापरवाहीका कारण मैले मेरो एउटा पनि सामान पाएको छैन ।
मैले विमानस्थल प्राधिकरण र कतार एयरलाइन्स दुबैलाई निरन्तर फलोअप गरेको छु, तर उनीहरुको प्रतिक्रिया निराशाजनक रहेको छ । तिनीहरूसँग उचित कारणहरू छैनन्।
फेसबुकका मेरा साथीहरू कृपया यो पोस्ट सेयर गर्नुहोस् र सम्बन्धित निकायमा पुगौं ताकि भविष्यमा हामीमध्ये कसैसँग पनि यस्तो लापरवाही नहोस्,’ सगुनले लेखेकी छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।