काठमाडौं - नेपालका कम्युनिस्ट पार्टीलाई मात्र होइन, राष्ट्रिय सभा गृहमा भएका धेरै कार्यक्रम र घोषणा बीचमै तुहिएका छन् ।
त्यहाँ घोषणा भएका कार्यक्रमले पूर्णता पाउन सकेका छैनन् । केपी ओली प्रधानमन्त्री भएका बेला बडो तामझामका साथ धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको थियो ।
सरकारले फाउन्डेसनसँग समझदारी गरेको थियो । सयौं मान्छे उपस्थित सो कार्यक्रमको देश विदेशमा चर्चा भयो । तर तीन वर्ष पनि बित्न नपाउँदै रंगशालाको निर्माण रोकियो ।
त्यतिमात्र होइन, सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको फाउन्डेसनले निर्माणबाट हात झिक्यो । अहिले सो रंगशाला अलपत्र अवस्थामा छ ।
राष्ट्रिय सभागृहमै २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा घोषणा भयो । तर त्यो लामो समय टिकेन । नेकपा २०७७ फागुन २३ गते खण्डित भयो । एमाले र माओवादी आ–आफ्नो बाटो लागे ।
कम्युनिष्टका लागि सभागृह मेलाको दुःखान्त विगत के हो भने, सभागृह मेलाको उत्साह र उमंग लामो समय टिक्न सकेन । नेकपाभित्र चलेको शक्ति संघर्षले ऐतिहासिक कम्युनिष्ट एकता लामो समय टिक्न सकेन ।
२०७७ फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गर्दा त्यो ऐतिहासिक कम्युनिष्ट एकताको गौरव गाथा छिन्नभिन्न भयो । २०८० असार ४ गते बहुसंख्यक राता र केही हरिया मान्छेहरू मिलेर सभागृहमै ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा गरियो ।
२०७५ जेठ ३ गते नेकपा घोषणा गर्न आयोजित राता मान्छेहरूको मेला र २०८० असार ४ गते आयोजित आंशिक हरिया मिश्रित मेलाको उत्साह र उमंगमा भिन्नता केही थिएन ।
नेता र कार्यकर्ता उत्तिकै हौसिएका थिए, उत्तिकै पुलकित देखिएका थिए। तर इतिहासकै निरन्तरता जस्तै गरेर सोमबार समाजवादी मोर्चा घोषणा गर्ने सन्दर्भमा यो अभियानको अभिन्न शक्ति बाबुराम नेतृत्वको नेसपा २०७५ जेठ ३ जसरी इतिहास दोहोर्याउँदै बाहिरियो ।
राष्ट्रिय सभागृहबाट २०७५ जेठ ३ गते घोषणा भएको अब, समाजवादी मोर्चा पार्टी बन्छ कि विगत झै विभाजन हुन्छ ? २०७४ असोज १७ गते सभागृहबाटै एमाले, माओवादी र नयाँ शक्तिले चुनावलगत्तै पार्टी एकता गर्ने बाचा गर्दै चुनावी तालमेल घोषणा गरेका थिए ।
तर, २०७५ जेठ ३ समम्म आइपुग्दा नयाँ शक्ति छुट्यो, एमाले र माओवादी मिलेर नेकपा घोषणा गरे । त्यो पनि खण्डित भयो । नेकपा विभाजनले मात्र कम्युनिष्ट फुटको इतिहास रोकिएन ।
एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपालहरूले एकीकृत समाजवादी गठन गर्दा कम्युनिष्ट फुटको इतिहासमा अर्को शृङ्खला दोहोरियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।