काठमाडौं - नक्कली शरणार्थी प्रकरणले सबै दलमा भ्रष्टाचारविरोधीको भूत सवार भएको छ ।
पहिले पहिले तिनै दलका नेता भ्रष्टाचारका मतियार थिए । सरकारमा रहँदा विभिन्न काण्डमा उनीहरू नै मुछिएका थिए । तर जनताले तिरस्कृत गर्ने सम्भावना बढेपछि अहिले साखुल्ले बन्न उनीहरू भ्रष्टाचार विरोधी बनेका छन् ।
विरोध सभा नै गर्न थालेका छन् । एकीकृत समाजवादी र राप्रपा अहिले भ्रष्टाचारविरोधी देखिएका छन् । दुवै दलले देशभर भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
एकीकृतत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न दबाब दिन माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ। सभालाई अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछन्।
जबकि एकीकृत समाजवादीका अध्यक्ष नेपाल र खनाल भ्रष्टाचारमै डामिएका छन् । नेपाल बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मुख्य नेता हुन् ।
उनी प्रधानमन्त्री भएकै बेला यो प्रकरण सुरु भएको हो । यसमा एमालेका धेरै नेता जोडिएका छन् । तर भौतिक पूर्वाधारमन्त्री भएका त्यसबेलाका विजयकुमार गच्छदारलाई मात्रै मुद्दा लगाइयो ।
झलनाल खनालको नाममा रहेको सर्पदंश केन्द्रले १९ करोड भ्रष्टाचार गरेको समाचार आएको छ । पूर्वप्रधानमन्त्रीको नाममा राज्यको करोडौं रुपैयाँ आफ्नो नाममा रहेको केन्द्रमा उनले हाल्न लगाएर कामै नगरी अनियमितता हुँदै आएको छ ।
यस्तै, राप्रपाले भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ। आज काठमाडौंस्थित वसन्तपुरमा विरोधसभा गर्ने तयारी राप्रपाले गरेको हो।
राप्रपाले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र संलग्न उच्चस्तरीय नेताहरूलाई कारवाहीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गरेको हो।सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नेछन्।
लिङ्देन एक महिने ऊर्जामन्त्री हुँदा जलविद्युत आयोजनाको पिपिए गर्दा एक अर्बभन्दा बढी कमिसनको खेल भएको समाचार आइसकेको छ ।
आफूलाई भ्रष्टाचारविरोधी देखाउने लिङ्देनले ठेकेदार विक्रम पाण्डेलाई सहरी विकास मन्त्री बनाएका थिए । पाण्डेको नाममा रहेका कालिका कन्स्ट्रक्सनले आयोजना निर्माण गर्ने नाममा राज्यको अर्बौं रुपैयाँ सिध्याउँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।