काठमाडौं - मुलुक कोरोना भाइरसले तवाह हुँदै गए पनि सत्तारुढ नेकपाका शीर्ष नेता भागबन्डामा रुमल्लिएका छन् ।
आफ्नो गुट कसरी बलियो बनाउने, मन्त्रिपरिषद्मा आफ्ना कुन नेतालाई लैजाने भन्नेमै उनीहरू मस्त छन् । कोरोनाले देशको आर्थिक स्थिति डामाडोल बनाएको छ । तर, सत्तारुढ दलमा आगामी महाधिवेशनमा को उठ्ने, कसले नेतृत्व लिने बहस सुरु भइसकेको छ ।
नेकपाको आगामी महाधिवेशनमा प्रधानमन्त्री केपी ओली उठ्ने नउठ्ने निश्चित छैन । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने महाधिवेशनपछि एकल अध्यक्ष बन्ने सपना पालेका छन् ।
तर, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका कारण प्रचण्डको सपना भंग हुने अवस्था देखिएको छ । नेता नेपालले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेद्वार बन्ने संकेत दिएका छन् ।
पूर्वएमालेलाई १५ बर्षसम्म नेतृत्व गरेका नेता नेपालले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आगामी महाधिवेशनमा अन्तिम पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने योजनामा आफू रहेको खुलासा गरेपछि खुमलटारमा तरंग सिर्जना भएको छ । उनले एउटै ब्यक्ति लगातार नेतृत्वमा बसिरहन नहुने आफ्नो प्रष्ट मान्यता पनि राखेका छन्।
‘एउटै ब्यक्ति लगातार पदमा बसिरहन हुन्न, यो कुरा मैले शीर्ष नेताहरुलाई पनि भनिसकेको छु,’ इमेज टेलिभिजनमा अन्तर्वार्तामा नेपालले भने, ‘७०–७५ बर्षभन्दा बढी उमेरमा पनि पदमा बस्नुहुन्न, आगामी एकता महाधिवेशनमा अन्तिम पटक म अध्यक्षमा उठने सम्भावना छ, त्यसपछि भने म दावी गर्दिन ।’
उनले आगामी एकता महाधिवेशन सहमतिमै होस् भन्ने चाहे पनि सहमति वा प्रतिस्पर्धा दुवैका लागि तयार हुनुपर्ने संकेत गरेपछि प्रचण्डलाई भाउन्न छुटेको स्रोतले बताएको छ ।
नेता नेपालले प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनमा आफूलाई अध्यक्षमा सघाउने मनशाय व्यक्त गरेको नेता नेपालको भनाइ थियो । ‘केपी कमरेडसँग २०२९ सालको अन्तिमदेखि सहकार्य भएको हो । ३० सालबाट जेल पर्नुभयो, २०४४ सालसम्म ।
मेरो सम्पर्क भएको प्रचण्ड भन्दा पहिला केपी कमरेडसँगै हो । त्यसकारण मैले केपी ओलीलाई शत्रु ठान्नुपर्ने कुनै कारण छैन । बिरोध गर्नुपर्ने पनि कुनै कारण छैन,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।