काठमाडौं सत्तारुढ दलभित्रको सधैंको किचलोले नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । नेकपामा कहिले के विषयमा विवाद कहिले के विषयमा झगडा हुँदा सरकारले कुनै काम नै देखाउन सकेको छैन ।
स्थिर सरकारको नारा दिएर जनताबाट भोट पाएर सत्तामा पुगेका नेकपाका नेताले आन्तरिक कलहमै तीन वर्ष बिताएका छन् । अबको दुई वर्ष पनि सहज ढंगले अघि बढ्ने स्थिति देखिएको छैन ।
प्रधानमन्त्री केपी ओली यतिबेला निकै सकसमा छन् । न सरकार न पार्टीको काम नै राम्रोसँग अघि बढाएका छन् । आफूले चुनावअघि दिएको नारा त्यत्तिकै सीमित हुने भएपछि उनी अहिले जसरी पनि पूर्वमाओवादी पक्षलाई दबाएरै पार्टी र सरकार चलाउने मनस्थितिमा पुगेका छन् । त्यसका लागि उनले दशैंअघि दुईपटक नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आकर्षक प्रस्ताव राखिसकेका छन् ।
तर, नेपालले कुनै चासो देखाएको देखिएन । ओलीले आगामी महाधिवेशनमा पार्टीको एकल अध्यक्ष बन्न आफूले सहयोग गर्ने प्रस्तावसमेत राखिसकेका छन् । आफूले जतिभन्दा पनि नमानेपछि प्रधानमन्त्री ओलीले आफ्ना चार विश्वासपात्रलाई नेपाल फकाउने जिम्मेवारी दिएका छन् ।
उनीहरू हुन्, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञपाली र शंकर पोखरेल । पार्टीमा उत्पन्न पछिल्लो विवाद साम्य पार्न पार्टीका दोस्रो तहका नेता शीर्ष नेतृत्वसँग छलफलमा जुटेका हुन् ।
नेकपाका दुवै समूहलाई मिलाउन महासचिव पौडेल, स्थायी कमिटी सदस्यहरु नेम्वाङ, ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरुको सक्रियता बढेको हो ।
उनीहरूको माधव नेपाल निवास कोटेश्वरमा आउजाउ बढेको छ । ओली निकट नेताहरूले माधव पक्षका नेताहरूसँग पनि कुराकानी गरिरहेका छन् । माधव नेपाललाई कुनै पनि हालतमा प्रचण्डको कित्तामा जानबाट रोक्न उनीहरूलाई प्रयोग गरिएको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।