काठमाडौं- उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रचण्डले दोस्रोपटक संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चैतको पहिलो साताभित्रै विश्वासको मत लिने तयारी थालेका हुन् । फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बुझिएको छ । यसबारे प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूसँग अनौपचारिक छलफल सुरु गरेका छन् । अहिले निर्वाचन आचारसंहितका कारण मन्त्रिपरिषद् विस्तारमा बाधा उत्पन्न भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै नेपाली कांग्रेस सरकारमा जाने तयारीमा लागेको छ । कांग्रेसले नौवटा मन्त्रालय लिने मोटामोटी पक्का भएको छ । तर रास्वपा सरकारमा सामेल भएमा कांग्रेसले एक मन्त्रालय कम पाउने छ । रास्वपा अहिले दुई मन्त्रालयसहित सरकारमा जाने र रवि लामिछानेले उपनिर्वाचन जितेर आएमा महत्वपूर्ण मन्त्रालय दिने आन्तरिक तयारी भएको स्रोतले बतायो ।
तर महत्वपूर्ण मन्त्रालयमा भागबन्डा टुंग्याउन प्रधानमन्त्री प्रचण्डलाई सकस पर्ने देखिएको छ । खासगरी गृह र अर्थ मन्त्रालयको विषयमा दलहरूको आ–आफ्नो दाबी छ । माओवादीले प्रधानमन्त्री र कांग्रेसले राष्ट्रपति पाइसकेकाले गृह मन्त्रालय आफूले पाउनुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी छ । तर, गृह मन्त्रालय कसैलाई पनि छाड्ने मुडमा प्रचण्ड छैनन् । पहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाएपछि माओवादीमा असन्तुष्टि उत्पन्न भएको थियो । रवि लामिछानेले सांसद पद खारेज भएसँगै गृहमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले नै गृह मन्त्रालयको जिम्मा लिएका छन् । हाल उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ सो मन्त्रालय छोडेर भए पनि गृहमा आउन चाहिरहेका छन् ।
कांग्रेसले उप–प्रधानमन्त्रीसहित गृह मन्त्रालय पाए कांग्रेस उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्कालाई पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने गरी पठाउने तयारी गरेको कांग्रेस नेताहरूको भनाइ छ । तर खड्काले मन्त्री नबन्ने प्रस्ट पारिसकेका छन् । खड्काबाहेक पार्टीमा कांग्रेसको तर्फबाट पार्टीको प्रवक्तासमेत रहेका डा.प्रकाशशरण महत र प्रकाशमान सिंह र एनपी साउदको नाम पनि चर्चामा छ ।
एकीकृत समाजवादीको भागमा गृह मन्त्रालय परे नेता राजेन्द्र पाण्डे गृहमन्त्रीको दाबेदार रहेको समाजवादी पार्टीका नेताहरूको भनाइ छ । तर पाण्डे भर्खर मात्र मुख्यमन्त्रीबाट हटेकाले प्रकाश ज्वालाले आफूलाई गृहमन्त्री बनाउनुपर्ने माग राखेका छन् ।
एमाले, राप्रपा, रास्वपासहित सात दलको समर्थनमा गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। उनले पहिलोपटक पुस २६ गते कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत आठदलीय गठबन्धन बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।