मकवानपुर - नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचनमा हेटौंडामा देखिएको केही दृश्यले पार्टीमा सनसनी मच्चिएको छ ।
सत्ता समीकरण फेरबदलका कारण बागमती प्रदेशमा अहिले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने अवस्था छैन । एमाले, माओवादी केन्द्र र राप्रपाका सांसद जोड्दा नै सरकार बनाउन बहुमत पुग्छ । तर, संसदीय दलको नेता, दलको उपनेता, प्रमुख सचेतक, सचेतकले सरकारबाट सुविधा पाउँछन् ।
प्रदेश सरकारबाट पाउने सुविधाकै कारण कांग्रेस बागमती प्रदेश दलको निर्वाचनमा केन्द्रले नै हस्तक्षेप गरेको थियो । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरुले पुस १२ गतेदेखि नै हेटौंडामा अड्डा जमाएका थिए ।
उनीहरु दलको नेतामा बहादुरसिंह लामालाई जिताउन साम, दाम, दण्ड, भेद जेसुकै प्रयोग गर्न पछि नपर्ने गरी साधनस्रोतसहित पुगेका थिए । लामा भने बुधबार साँझ मात्र हेटौंडा पुगेका थिए ।
बुधबार बिहानैदेखि दोलखा (क) बाट निर्वाचित कुन्दनराज काफ्लेको चुरीफुरी हेटौंडामा हेर्न लायक थियो । कांग्रेसमा कृष्णप्रसाद सिटौला समूहका काफ्ले लामाको पक्षमा यसरी खुलेर लागेका थिए कि कांग्रेस नेताहरु नै उनको हर्कतले लजाएका थिए ।
पार्टीमा पछिल्लो समीकरणले सिटौला पक्ष तहसनहस भएको छ । सोही कारण अहिले उनी जसले आफूलाई आर्थिक सहयोग गर्छ उसकै पक्षमा देखिने गरेका छन् ।
लामाको पक्षमा नांगै भएर काफ्ले लाग्नुको कारण प्रमुख सचेतक वा सचेतक पाइने लोभले भएको कांग्रेस नेताहरु बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवा र आरजु देउवाकै इसारामा काफ्लेले इतर पक्षका सांसदलाई विभिन्न डर र प्रलोभनमा पारेर लामाको पक्षमा तानेको चर्चा छ ।
उनले सिन्धुलीका प्रदेश सभा सदस्य रामप्रसाद पहाडीलाई ठूलै आर्थिक प्रलोभनमा तानेको बुझिएको छ । पहाडी सुरुदेखि नै इन्द्र बानियाँतिर खुलेर लागेका थिए । बागमती प्रदेशमा कांग्रेसलाई ठूलो दल बनाउन बानियाँले महत्वपूर्ण भूमिका खेलेको भन्दै पहाडी दलको नेता उनी नै बनून् भन्ने चाहन्थे ।
तर काफ्लेले पहाडीलाई लामातिर भोट हाल्न बाध्य पारेको हेटौंडामा चर्चा छ । बानियाँ आफ्नो पक्षमा १९ मत आउनेमा ढुक्क थिए । तर, काफ्ले खल्तीमा पैसाको बिटो बोकेर हिँडेपछि तीन मत चोरिएको बानियाँ पक्षले निष्कर्ष निकालेको छ ।
‘दलको प्रमुख सचेतक वा सचेतक बन्ने लोभमा काफ्ले यसरी नांगै भएर प्रस्तुत होलान् भन्ने हामीले कल्पनासमेत गरेका थिएनौं,’ कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘उहाँको चलखेल देखेर कांग्रेसी नै लजाएका छन् ।’
हालै सम्पन्न निर्वाचनमा दोलखामा काफ्लेले कम्तीमा नौवटा बुथ कब्जा गरेको एमालेले नै आरोप लगाएको छ । केही मतदान केन्द्रमा त पुनः मतदानसमेत भयो ।
तर धेरै मत खसेका मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने एमालेको माग निर्वाचन आयोगले नै अस्वीकार गरिदिएको थियो । पार्टीको केन्द्रीय सदस्य भएर पनि एउटै समूहका नेतालाई हराउन उनले खेलेको चलखेलको अहिले पार्टीमा आलोचना हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।