सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

गुन्डा नाइकेसँगै धमाधम ठेकेदार र व्यापारीलाई सांसदमा सिफारिस गर्दै एमाले

गुन्डा नाइकेसँगै धमाधम ठेकेदार र व्यापारीलाई सांसदमा सिफारिस गर्दै एमाले

  • मिडिया डबली
  • आइतवार, भाद्र २६ २०७९

  • 19.1K
    SHARES

  • गुन्डा नाइकेसँगै धमाधम ठेकेदार र व्यापारीलाई सांसदमा सिफारिस गर्दै एमाले

    काठमाडौं - आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पैसावाललाई प्रमुख दलहरूले महत्व दिन थालेका छन् ।

    नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपाले विवादास्पद पृष्ठभूमिका व्यक्तिहरूलाई सांसदमा सिफारिस गर्ने क्रम जारी छ । यसैक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले गुन्डा नाइकेसँगै धमाधम ठेकेदार र व्यापारीलाई सांसदमा सिफारिस गरिरहेको छ ।

    प्रहरीले गुन्डा नाइकेका रूपमा हेर्ने मिलन गुरुङ उर्फ चक्रे मिलन र परशुराम बस्नेत उम्मेदवार सिफारिसमा परेका छन् । चक्रे मिलनलाई एमाले क्षेत्रीय कमिटीले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

    काठमाडौंको चक्रपथ क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न भएको, अकुत सम्पत्ति कमाएको आदि आरोपमा उनी पटक–पटक पक्राउ पर्दै छुटेका थिए । गुन्डा नाइकेविरुद्ध प्रहरीले इन्काउन्टर अभियान नै चलाउन थालेपछि निष्क्रिय बनेका उनी पछिल्लो समय गोरखा क्षेत्रमा सक्रिय छन् ।

    त्यस्तै, विराटनगरमा गुन्डा नाइकेको परिचय बनाएका बस्नेत पनि प्रदेश सभा निर्वाचनमा सिफारिस भएका छन् । एमालेले मोरङ क्षेत्र नम्बर ६ (ख) बाट उनलाई उम्मेदवार सिफारिस गरेको हो ।

    एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको निर्वाचन परिचालन सचिवालयको सदस्यसमेत रहेका उनको नाम सिफारिस सूचीको पहिलो नम्बरमा छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका उनी ओलीनिकट मानिन्छन् ।

    एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा ठेकेदार र व्यावसायिक पृष्ठभूमिका थुप्रै व्यक्ति उम्मेदवार सिफारिस भएका छन् ।

    चर्चित मेडिकल व्यवसयी दुर्गा प्रसाईंदेखि उद्योगपति मोतीलाल दुगडसम्म एमालेबाट उम्मेदवारको दौडमा छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईं झापा– ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भइसकेका छन् भने अहिले समानुपातिक सांसद रहेका प्रसाईं मोरङको कुनै क्षेत्रबाट उम्मेदवारी दिने योजनामा छन् । अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटी काठमाडौं– १ बाट एमालेबाट सिफारिस भएका छन् ।

    रसुवाबाट निर्माण व्यवसायी जनार्दन ढकाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छन् । उनी ०७० मा रसुवाबाट निर्वाचित भए पनि ०७४ को निर्वाचनमा पराजित भएका थिए । झापा– ४ बाट वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष लालप्रसाद (एलपी) साँवा लिम्बू सिफारिस भएका छन् । एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षसमेत रहेका उनी अहिले पनि प्रतिनिधिसभाका सांसद हुन् ।

    मनाङमा दक्षिण एसियाकै ठूलो स्याउ फार्म खोलेका प्रतिनिधिसभाका सांसद पोल्देन छोपाङ गुरुङ पुनः उम्मेदवारका लागि सिफारिस भएका छन् ।

    त्यस्तै, पर्सा १ बाट नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी, २ बाट व्यवसायी तथा वीरगन्ज उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विजय सराबगी उम्मेदवार सिफारिस भएका छन् ।

    दोलखाबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्माण व्यवसायी सहदेव खड्का, प्रदेश सभा (क) मा अर्का निर्माण व्यवसायी विदुर शर्माको नाम सिफारिस भएको छ । त्यस्तै, रामेछापबाट प्रतिनिधिसभाका लागि निर्माण व्यवसायी रत्न गौतमको नाम सिफारिस भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९११:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend