काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर उत्तरतर्फको छिमेकी चीनले नेपालमाथि नांगो हस्तक्षेप गर्न थालेको छ ।
अहिले दैनिकजसो चिनियाँ नेताले नेपालका कम्युनिस्ट पार्टीका नेतालाई फोन गर्ने, भिडियो वार्ता गर्ने, विज्ञप्ति निकाल्ने गर्न थालेको छ ।
एमसीसीलाई लिएर नेपालका जनतालाई भन्दा बढी चीनको टाउको दुःखेको छ । त्यही भएर ऊ अहिले नांगो भएर हस्तक्षेपमा उत्रिन थालेको हो ।
केही दिनको अन्तरालमा चीनका दुई उच्च राज्याधिकारीबाट आएका प्रतिक्रिया स्वाभाविक कूटनीतिका सीमाभित्र छैनन् । नेपालको संसदमा उक्त सम्झौता टेबल हुनुभन्दा दुई दिनअघि गत शुक्रबार चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘सहकार्यका नाममा जबर्जस्तीको कूटनीति थालेको’ आरोप लगाउँदै त्यसको आफूहरूले प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।
तेस्रो देशसितको नेपालको मामिलाबारे त्यसरी बोल्नु आफैंमा अशोभनीय थियो । तैपनि यो सिलसिला यत्तिकै रोकिएन, नेपालको संसद्मा उक्त सम्झौता टेबल भएको चौथो दिन बुधबार फेरि चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले ‘एमसीसी उपहार हो कि पान्डोराज बक्स’ भन्ने प्रश्न गर्दै ‘अल्टिमेटमको प्याकेजसहित उपहार आउन नसक्ने’ आशय व्यक्त गरिन् ।
डेढ साताअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली शीर्षस्थ नेताहरूलाई टेलिफोन गरी एमसीसी अनुमोदन नगरिएमा नेपालसँगको सम्बन्धमै पुनर्विचार गरिने धम्कीपूर्ण भाषा बोल्नुजत्तिकै आपत्तिजनक छन्, चिनियाँ पक्षबाट आएका यी अभिव्यक्तिहरू पनि । एउटा सार्वभौम मुलुकका हैसियतमा नेपाल आफ्नो निर्णय लिन स्वतन्त्र छ ।
तर चीनले नेपालले नमागेको सल्लाह दिइरहेको छ । यही विषयमा भारतले बोलेको भए यहाँ कम्युनिस्ट नेताहरूको रुवावासी चल्थ्यो ।
नेपालमा एमसीसी परियोजना लागू हुँदा चीनको सुरक्षालगायतका स्वार्थमा प्रत्यक्ष असर पुग्ने कुनै ठोस आधार बेइजिङसित छ भने त्यसबारे उसले आफ्नो सरोकार कूटनीतिक संयन्त्रमार्फत नेपाली पक्षसमक्ष राख्न सक्छ ।
तर उसले अहिलेसम्म केही त्यस्तो आधार देखाएको छैन । बरु अमेरिकी सेना नेपाल आउँछ भन्दै कम्युनिस्ट नेतालाई उचालेर अस्थिरता बढाइरहेको छ ।
एमसीसीलाई लिएर चीनले नेपालको काँधमा बन्दुक राखेर पड्काउन खोजेको छ । चीनले अहिले नेपालमा अघोषित नाकाबन्दी लगाइरहेको छ । तर नेपालका कोही पनि नेता बोल्न सकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।