इस्लामावाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले कृषिमा कर वृद्धि गरेपछि, त्यसको विरोध गर्दै किसानहरु सडकमा उत्रिएका छन्। पाकिस्तानका किसानहरुले सरकारले कृषिमा कर बढाउनुका साथै मलको मूल्यवृद्धि गरेको र कृषि सामग्रीको अभाव र मूल्य बढाएको भन्दै देशभरका किसानहरुलाई सडकमा आउन आह्वानसमेत गरेका छन्।
पाकिस्तान किसान इत्तिहाडका कार्यकर्तासहित बालबालिका, पशुचौपाय र कृषि सामग्री बोकेर किसानहरु सडकमा उत्रिएका हुन्।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार मुल्तान सहरमा हजारौं किसानहरु उपस्थित भएर सरकारको चर्को विरोध गर्दै नाराबाजी गरेका हुन्।
उक्त आन्दोलनको नाम बोल्न नसक्ने जनाव र असहाय किसान नाम दिइएको थियो। पीकेआईले सरकारले आफ्ना मागहरु पूरा नगरे देशभर थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। पीकेआईका प्रमुख मोहम्मद खोखारले आगामी साता आफ्ना बालबालिकाको भविष्य मृत्युशैय्यामा पुगेको भन्दै शोक व्यक्त गर्ने कार्यक्रम रहेको बताएका छन्।
उनले अहिलेको इमरान सरकारले पाकिस्तानको अर्को पुस्ताको भविष्यलाई समाप्त पारेको र अर्थतन्त्र ध्वस्त पारेको आरोप उनले लगाएका छन्।
पाकिस्तान सरकारले सामान्य कृषि उत्पादनमा पनि १७ प्रतिशतले कर वृद्धि गरेको छ। त्यसैगरी बीउमा तीन प्रतिशत जीएसटी बढाएको छ भने मोटरको बिजुलीको बिल र मल तथा कृषि सामग्रीमा पनि चर्को मूल्यवृद्धि गरेको छ। उनीहरुले आफूलाई सरकारले कुनै अनुदान तथा राहतहरुसमेत उपलब्ध नगराएको स्मरण गर्दै सरकारलाई चर्को कर तिर्नुको कुनै औचित्य नभएकोसमेत बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।