काठमाडौं – देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना भाइरस संक्रमणको परीक्षण गर्न छाडेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमूनाको विवरण सार्वजनिक गर्दै आएको छ ।
जसमध्ये पछिल्लो २४ घण्टामा ३४ प्रयोगशालाबाट १ जनाको पनि कोरोना परीक्षण नभएको देखिएको छ । यसरी हेर्दा केही दिनयता कोरोना परीक्षण निकै घटेको पाइएको छ ।
पछिल्लो २४ घण्टामा कोसी अस्पताल विराटनगर, न्युरो कोभिड अस्पताल विराटनगर, धनकुटा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, जलेश्वर अस्पताल, सिराहा अस्पताल, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण नै नभएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाएको छ ।
वीरेन्द्र अस्पताल छाउनी, केएमसी अस्पताल काठमाडौं, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौं, हेटौंडा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल नेपालगञ्जमा पनि पछिल्लो २४ घण्टामा १ जनाको पनि कोरोना परीक्षण हुन सकेन ।
डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालगायत प्रयोगशालामा परीक्षण संख्या शून्य रहेको छ ।
गत सोमवारदेखि हिजो आइतवारसम्मलाई आधार मान्दा दैनिक ७ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको पाइएको छ । सो अवधिमा ५३ हजार ७७३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । जसमा १२ हजार ६२३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसअघि जेठ तेस्रो हप्ता दैनिक ११ हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।
आईतवार ६ हजार जनाको पीसीआर र ३ हजार ८३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट १ हजार ३५३ र एन्टिजेन विधिबाट ५६७ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले परीक्षण गराउन आउनेको संख्या घटेको बताए । परीक्षण गराउन आउनेको संख्या घट्दा संक्रमितको संख्या पनि घटेको देखिएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताएका छन् ।
आईतवार काठमाडौं उपत्यकामा थप ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ । गत २४ घण्टामा ३४ जना संक्रमतिको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
गत २४ घण्टामा ३ हजार ७ संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ रहेको छ ।
केही दिनयता गम्भीर संक्रमितको संख्या पनि घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा ७०६ जना आईसीयू र २०० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । संक्रमितको संख्या घटे पनि हेलचेक्र्याइँ नगर्न विज्ञहरुले सुझाव दिएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।