सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक विशेष

सुजाता कोइराला कांग्रेसमा पहिलो महिला सभापति बन्लिन् ?

सुजाता कोइराला कांग्रेसमा पहिलो महिला सभापति बन्लिन् ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 12.5K
    SHARES

  • सुजाता कोइराला कांग्रेसमा पहिलो महिला सभापति बन्लिन् ?

    काठमाडौैं - नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै नेताहरूलाई महाधिवेशन लागिसकेको छ । संवैधानिक प्रावधानअनुसार पनि अब कांग्रेसको महाधिवेशन सार्न मिल्दैन । आगामी भदौ दोस्रो साताभित्र जसरी पनि सम्पन्न गर्नैपर्ने हुन्छ ।

    त्यही भएर अहिले नेताहरू धमाधम आफ्नो चाहना प्रकट गरिरहेका छन् । यसपटक सबैभन्दा धेरै सभापति पदको आकांक्षी देखिएका छन् । हालसम्म नौजनाले सभापतिमा दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

    जसमा वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, डा.शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङ छन् ।

    देउवा पक्षका गोपालमान श्रेष्ठले पनि आफू सभापतिको उम्मेदवार बन्ने बताएका छन् । तर, उनी खुलेर आइसकेका छैनन् । सभापतिको दौडमा यसपटक कोइराला परिवारका तीनजना छन् ।

    अहिले सार्वजनिक खपतका लागि शशांक, शेखर र सुजाताले आफूलाई सभापतिमा दाबेदारी प्रस्तुत गरे पनि अन्तिममा एकजना मात्र उम्मेदवार हुने निश्चित छ ।

    एक वर्षअघिदेखि नै शशांक, शेखर र सुजाताबीच मिलेर जाने सहमति भएको छ । उनीहरूबीच पटक पटक यस विषयमा छलफल पनि भइरहेको छ । पछिल्लो समय सुजाता कोइराला स्वास्थ्यका कारण पनि त्यति सक्रिय देखिन सकेकी छैनन् ।

    क्यान्सरको उपचार गराइरहेकी सुजाताले केही दिनअघि मात्रै आफू पूर्ण रूपमा स्वस्थ रहेको भन्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरिन् । सुजाताको यो घोषणाले संस्थापन पक्ष र इतर समूहमा तरंग सिर्जना गरेको छ ।

    नेपाली कांग्रेसको इतिहासमा अहिलेसम्म कुनै पनि महिलाले सभापतिको दाबेदारी प्रस्तुत गर्न सकेका थिएनन् । तर, सुजाताले भने खुलेर आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

    यदि कोइराला परिवारबाट एकजना मात्र सभापतिको उम्मेदवार उठ्ने त्यसमा पनि सुजाता उठिन् भने महिला महाधिवेशन प्रतिनिधिको सहानुभूति उनले बटुल्ने निश्चित छ ।

    यतिबेला कांग्रेसमा युवा चाहनालाई परास्त गर्न पनि वृद्ध नेताहरूले पदाधिकारीमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । युवालाई नेतृत्वमा आउन नदिन अनेक प्रपञ्च चलिरहेको छ ।

    तर, सुजाताले भने आफूनिकट नेताहरूसँग पहिलो महिला सभापति बनेर इतिहास कोर्ने इच्छा राख्न थालेकी छन् । सुजाता निकट नेताहरूका अनुसार अहिले मण्डिखाटारमा कोइराला समूहका नेता कार्यकर्ताको बाक्लो भिडभाड बढ्न थालेको छ ।

    पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षी महाराजगन्जस्थित शेखर र मण्डिखाटारस्थित सुजाता निवासमा भेला हुन थालेका हुन् । कांग्रेसको संस्थापन पक्षमा देउवा, निधि र श्रेष्ठ सभापतिका उम्मेदवार बनेमा इतर पक्षबाट एकजना मात्र उम्मेदवार भए कोइराला परिवारले बाजी मार्ने बताउन थालिएको छ ।

    कांग्रेसको वडा तहदेखिका अधिवेशन सुरु हुन एक महिना पनि बाँकी छैन । साउनको दोस्रो सातादेखि तल्ला तहका अधिवेशन सुरु हुँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २५ २०७८११:३३:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend