आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पौडेल पक्षबाट सभापति बन्न यी ७ जनाबीच कडा टक्कर, यस्ता छन् सबैका दाबी

पौडेल पक्षबाट सभापति बन्न यी ७ जनाबीच कडा टक्कर, यस्ता छन् सबैका दाबी

  • मिडिया डबली
  • शनिवार, आषाढ १२ २०७८

  • 4.1K
    SHARES

  • पौडेल पक्षबाट सभापति बन्न यी ७ जनाबीच कडा टक्कर, यस्ता छन् सबैका दाबी

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

    सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको १ हप्तापछि शुक्रवार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्द्र पौडेलसहित सबै प्रभावशाली नेताले नेतृत्वमा दाबी गरेका हुन् ।

    भेलामा १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित पौडेलले १४ औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बन्ने अवसर दिनुपर्ने बताएका छन् । निकटहरुलाई गोलबद्ध गरेर नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रन पौडेललाई हम्मेहम्मे पर्ने विश्लेषण भइरहेका बेला आयोजित संस्थापन इतर भेलामा महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, शेखर कोइराला र सुजाता कोइरालाले समेत नेतृत्वका लागि दाबी पेश गरेका छन् ।

    नेता महत र केसीले नेतृत्वका लागि दाबी पेश गर्दै सहमतिका लागि बाधक नबन्ने बताएका छन् । संस्थापनइतर समूहबाट एकभन्दा बढी उम्मेदवार भए आफूहरु पनि उम्मेदवार बन्ने महत र केसीले बताएका थिए । पौडेलले आफू र सभापति देउवालाई एकैठाउँमा राखेर नहेर्न भन्दै नेतृत्वमा पुग्न सहयोगका लागि आग्रह गरेको स्रोतले दाबी गरेको छ । पौडेलले सुरक्षित लोकतन्त्र र व्यवस्थित पार्टी आफ्नो चाहना रहेको बताएको जानकारी एक सहभागीले जनाएका छन् ।

    महामन्त्री शशांकले पार्टी नेतृत्वका लागि आफू स्वाभाविक दाबेदार रहेको बताउँदै ३ नेताबीच भइरहेको छलफलको जानकारी भेलालाई गराएका थिए । पूर्व महामन्त्री सिंहले आफूले नेतृत्वको प्रतिस्पर्धामा रहेको जानकारी नेताहरुलाई धेरै पहिलादेखि गराउँदै आएको बताउँदै कार्यकर्ताले अब देउवाबाट मात्र होइन, पौडेलबाट पनि पार्टी चल्दैन भन्न थालेको धारणा राखेका थिए ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिमा आएका सिंहले पनि आफूलाई पार्टीको नेतृत्वमा पुग्न सहयोग गर्न आग्रह गरेका छन् ।

    नेता शेखरले नयाँ र पुरानो पुस्तालाई जोडेर सशक्त कांग्रेस बनाउन आफूले मात्र सक्ने भन्दै सहयोग गर्न आग्रह गरे । शेखरले आफू १५ औं महाधिवेशनमा सभापतिको दौडमा नहुने तर अहिले उम्मेदवार बन्ने बताउँदै सहयोग गर्न र पौडेल सहितका नेताहरुलाई संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

    भेलामा सहभागी केन्द्रीय सदस्यहरुले संस्थापनइतर समूहबाट एउटा मात्र उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेताहरुलाई समझदारीमा एक जनाले मात्र उम्मेदवारी दिने वातावरण बनाउन सुझाएका थिए । 

    जवाफमा सभापतिका आकांक्षी नेताहरुले सहमतिका लागि प्रयास जारी रहेको बताएका थिए । ‘नेताहरुले नेतृत्वका लागि दाबी पेश गर्नुभएको छ,’ भेलामा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘तर उहाँहरुले सहमतिका लागि प्रयास गरिरहेको र मिलेर नै उम्मेदवारी दिन्छौं पनि भन्नुभएको छ ।’ भेलामा पार्टी क्रियाशील सदस्यता छानबिन लगायतका विषयमा पनि छलफल भएको थियो ।

    कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले छलफललाई निरन्तरता दिँदै १४ औं महाधिवेशनमा मिलेर अघि बढ्ने सन्देश पार्टीभित्र प्रवाह गरेका छन् । सभापति शेरबहादुर देउवाले फेरि नेतृत्वका लागि अग्रसरता लिएलगत्तै उपसभापति निधिको निवासबाट सुरू भएको ३ नेताको भेटघाटलाई निरन्तरता दिएका छन् ।

    महामन्त्री कोइराला निवास महाराजगञ्जमा शुक्रवार भेला भएका ३ नेताले १४ औं महाधिवेशनमा एक भएर जाने र अर्को बैठक पूर्व महामन्त्री सिंहको निवासमा बस्ने सहमति भएको छ ।

    सभापतिका लागि आकांक्षी तीनै जनाले को उम्मेदवार बन्ने भन्ने विषयमा छलफल अघि बढाएका छैनन् । पार्टीका सबै केन्द्रीय सदस्यहरुसँगको परामर्शपछि व्यक्ति केन्द्रित छलफल हुने एक नेताले बताए । महामन्त्री कोइरालाले आफूहरु एकै ठाउँमा रहेको र सभापतिमा को उठ्ने भन्ने पछि निर्णय गरिने जानकारी दिएका छन् ।

    ‘मुख्यगरी राष्ट्रिय राजनीति र पार्टी महाधिवेशनबारे हाम्रो छलफल भयो,’ ३ नेताबीचको भेटपछि कोइरालाले भने, ‘हाम्रो बीचमा सहमति हुने सम्भावना प्रबल बन्दै गएको छ ।’

    गुट–उपगुटमा विभक्त कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउँदै पूर्व महामन्त्री सिंहले भने, ‘पार्टीलाई १ नम्बर बनाउन कार्यकर्ताको चाहनाअनुसार छलफल गर्दैछौं ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend