आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कस्तो हुनेछ भोलिबाट लागू हुने ‘स्मार्ट लकडाउन’ ?

कस्तो हुनेछ भोलिबाट लागू हुने ‘स्मार्ट लकडाउन’ ?

  • मिडिया डबली
  • आइतवार, आषाढ ६ २०७८

  • 7.4K
    SHARES

  • कस्तो हुनेछ भोलिबाट लागू हुने ‘स्मार्ट लकडाउन’ ?

    काठमाडौं – असार महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा ‘स्मार्ट लकडाउन’ कार्यान्वयनमा आउने भएको छ ।

    कोभिड १९ निर्देशक समिति बैठकले असार ७ गतेपछि स्मार्ट लकडाउन लागू गर्न निर्देशन दिएको छ ।

    स्मार्ट लकडाउनको स्वरुप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई दिइएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्मा स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्वद्ध पक्षसँग छलफल भइरहेको बताउँछन् ।

    सीसीएमसी आवद्ध एक उच्च अधिकारीका अनुसार मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना संक्रमण घटाउने रणनीति रहेको छ ।

    निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ । उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायमा आलोपालो, सवारीसाधनमा जोरबिजोर लगायतका उपाय अवलम्बन गर्न सकिने अधिकारीहरुले बताएका छन् ।

    विशेषगरी ‘स्मार्ट लकडाउन’ काठमाडौं उपत्यकालगायत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाहरूको शहरी क्षेत्रमा लागू गर्न सकिने छ । होम डेलिभरी तथा अनलाइन शपिङ पनि स्मार्ट लकडाउनको महत्त्वपूर्ण पक्ष हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा र स्मार्ट निषेधाज्ञामा निकै भिन्नता रहेको बताए । ‘निषेधाज्ञाको अगाडि स्मार्ट लगाए पनि स्वरुप र प्रकृतिका विषयमा अन्योल छ,’ उनले भने ।

    यस सम्बन्धमा काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुबीच आईतवार छलफल हँुदैछ । ‘हामी स्मार्ट लकडाउनका विषयमा छलफल गर्छांै, यसको कसरी प्रयोग गर्ने, स्वरुप के हो ? क–कसको भूमिका के हुन्छ आदि विषयमा छलफल हुन्छ,’ उनले भने । यो नयाँ विषय भएकाले आफूहरु पनि छलफलपछि मात्र निर्णयमा पुग्ने धारणा उनको थियो ।

    बैशाख १६ गतेबाट जारी निषेधाज्ञाको २ महिना बितेको छ । सो अवधिमा संक्रमण दर घटे पनि जोखिम यथावत् रहेको भनाइ स्वास्थ्य विज्ञहरुको छ । कोरोना संक्रमण पुनः फैलिन नसक्ने गरी मुलुकको समग्र क्षेत्रलाई क्रमशः चलायमान बनाई सर्वसाधारणको दिनचर्यालाई सहज बनाउनुपर्ने आवश्यकता रहेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा जारी राखी जनजीवनलाई कसरी सहज बनाउन सकिन्छ, छलफल हुन्छ । कतिपयले स्मार्ट लकडाउनलाई वैज्ञानिक एवं व्यवस्थित लकडाउन समेत भनेका छन् ।

    संक्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसीआर परीक्षण, कन्ट्याक ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधान ‘स्मार्ट लकडाउन’ भएको बताइएको छ ।

    सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जनशक्ति घटाई आलोपालो, भीडभाडमा रोकावट, सवारीसाधनमा जोरबिजोरसँगै समूह छुट्याई सञ्चालन अनुमति दिने र पसलहरु दिन वा बार तोकी ‘टु इन वान’ २ पसलमध्ये एउटा खोल्न दिनेजस्ता प्रावधानका विषयमा छलफल हुने जनाइएको छ ।

    स्मार्ट लकडाउन शब्दमा आकर्षक भए पनि यसको स्वरुप र कार्यान्वयन चुनौतीपूर्ण रहेको भनाइ सुरक्षा अधिकारीको छ । कर, राजस्व तथा अन्य शुल्क तिर्न पालो कुर्नुपर्ने अवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend