काठमाडौं – भौतिक रुपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरू गरिने घोषणा भएको छ ।
विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको भर्ना प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।
वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने निर्देशन मन्त्री श्रेष्ठले दिए । सरकारको निर्णयअनुसार अब १० कक्षासम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरू हुनेछ । एसईई प्रक्रियामै रहेकोले अहिलेको अवस्था १० कक्षामै नयाँ र पुराना गरी २ समूह छन् ।
मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउन समेत निर्देश गरेका मन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्यांकन लगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ ।
नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषदमा पत्र लेखेर पठाउने निर्णय समेत गरिएको छ ।
सरकारले चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा घोषणा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन साउन १ गतेबाटै गर्न मन्त्री श्रेष्ठले निर्देशन गरे । सरकारले प्रारम्भ गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजान आवश्यक कार्यविधि बनाउन समेत उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न निकायका अधिकारीलाई निर्देश गरेका छन् ।
यसैबीच, जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक सहज ढुवानी र बिक्री वितरणका लागि आवश्यक वातावरण बने जेठ मसान्तभित्र विद्यार्थीको हातमा पुस्तक पुर्याइने जनाएको छ । अझै १ हप्ता सहज रुपले पुस्तक बिक्री वितरण मिलाउन पाए विद्यार्थीको हातमा पुस्तक पुर्याउने उनको भनाइ छ ।
यस वर्षका लागि आवश्यक पुस्तक छपाइ गरी प्रदेश कार्यालयमा पुर्याइएको र ती पुस्तक विद्यालयसम्म पुर्याउन मात्र यतिबेला समस्या भएको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।