काठमाडौं – कोरोना भाइरस संक्रमणको दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर आउन सक्ने भन्दै तयारी अवस्थामा रहन सरकारले अनुरोध गरेको छ ।
प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न सरकारले आग्रह गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमणको अर्काे लहर पुनः आउन सक्ने भन्दै सचेत र सजग रहनुपर्नेमा समेत जोड दिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमण दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भएकाले सबै अस्पताललाई शय्या छुट्याउन परिपत्र गरिएको छ ।
तेस्रो र चौथो लहर आउनसक्ने भएकाले पूर्व तयारी गर्नुपर्ने भएकाले वैकल्पिक अक्सिजन व्यवस्थापन गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।
स्वास्थ्य मन्त्रालयबाट शुक्रवार जारी विज्ञप्तिमा दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र बालबालिका बढी संक्रमित हुनसक्ने अवस्था मध्यनजर गर्दै स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिका उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
देशभर शुक्रवार ६ हजार ६५३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पीसीआर र ६ हजार ६३१ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १०१ संक्रमितको मृत्यु भएको छ । शुक्रवार ८ हजार ६६३ संक्रमित निको भएका छन् । देशभर ७५५ जना क्वारेन्टीनमा रहेका छन् ।
देशभरका अस्पतालमा १ हजार ४२२ जना आईसीयू र ४०४ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।