काठमाडौं – दैलेखको भैरवी गाउँपालिकाकी १४ वर्षीया ममता शाही ९ कक्षामा अध्ययनरत छिन् ।
स्थानीय हिमालय मावि डाँडीमाँडीमा अध्यनरत ममता हाल स्कूल बन्द भएका कारण अधिकांश समय घरमै हुन्छिन् ।
गाउँमै रहेको चिल्ड्रेन सेफ बाल क्लबमा आवद्ध उनले आफ्नो गाउँमा कोरोना फैलिन नदिने उपाय खोजिरहेकी छन् ।
शाहीले घरको दैलोमै कोरोनाका लक्षण, बच्ने उपायहरुको सन्देशमूलक चित्र र आचारसंहिता बनाएर टाँसेकी छन् ।
शाहीजस्तै स्थानीय गौरी मावि बालेकाँडामा अध्ययनरत उपेन्द्र विकको दिनचर्या पनि उसैगरी बित्छ । स्कूल बन्द रहेका कारण शाहीले अभिभावकलाई स–साना काममा सघाउने र अन्य समय गाउँमा कोरोना संक्रमण फैलिन नदिन सचेतनामूलक सामग्रीहरु बनाउँछन् ।
ममता र उपेन्द्र जस्तै गाउँपालिकामा बालबालिका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिजनशीलता देखाइरहेका छन् ।
गाउँपालिकामा रहेका चिल्ड्रेन सेफ, समाज सुधार, सहनशीलता र म्यारीगोल्ड बाल क्लवमा आवद्ध ५४ जना बालबालिकाले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमूलक चित्र तथा आचारसंहिता बनाउने गरेका छन् । उनीहरुले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमूलक चित्र बनाएका छन् ।
सन्देशमूलक चित्र र आचारसंहिता आआफ्नो घरको दैलोमा टाँसेका छन् । बालबालिकाले आफ्नो घरसँगै वडा कार्यालय लगायतका सार्वजनिक स्थानमा समेत आचारसंहिता र सन्देशमूलक चित्र टाँसेका छन् ।
बालबालिकाले कोरोनाबाट बच्न निर्माण गरेको आचारसंहितामार्फत् परिवारका सबै सदस्यहरुले नियमित रुपमा साबुनपानीले मिचिमिची हात धुन, जथाभावी भीडभाड नगर्न, नियमित रूपमा मास्कको प्रयोग गर्न घरपरिवार र समुदायलाई आग्रह गरेका छन् ।
पानीलाई तताएर मात्रै पिउन, पोषणयुक्त खानेकुरा खान, खानेकुरालाई राम्ररी पकाएर मात्र खान, व्यक्ति व्यक्तिबीचको दूरी कायम गर्न आचारसंहितामा उल्लेख गरेका छन् । त्यति मात्रै होइन, बालबालिकाले बाल विवाह नगर्ने र महिनावारीलाई मर्यादित बनाउन समेत आचारसंहितामा उल्लेख गरेका छन् ।
बालक केशव थापा भन्छन्, ‘हामीले बनाएको सन्देशमूलक चित्र र आचारसंहिता घरका सबैले पालना गर्नुहुन्छ, घरमा आउने अन्य व्यक्तिहरुले पनि पालना गर्नैपर्छ ।’
टाँसिएको चित्र र आचारसंहिता घरमा आउने जो कोहीले पनि हेर्ने र पढेर जाने गरेको थापाले बताए । बालबालिकाले कोरोनाका लक्षण, बच्ने उपायबारे समुदायमा सचेतना फैलाइरहेका बालबालिकालाई सहजीकरण गरिरहेकी निर्मला नेपालीले बताइन् ।
‘बालबालिकाले स्कूल बन्द भएको समयमा समयको सदुपयोग गरिरहेका छन्,’ निर्मलाले भनिन्, ‘बालबालिकाको अन्तरनिहीत क्षमताको प्रस्फूटन भएको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।